सप्तरी ,भाद्र ८ : डिभिजन वन कार्यालय, रौतहटको आयोजनामा आज एक भव्य समारोहका बीच वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेलाई सम्मानपूर्वक विदाइ गरिएको छ।

कार्यक्रममा सचिव घिमिरेको सरल स्वभाव, मार्गदर्शी नेतृत्व र समर्पित योगदानको उच्च प्रशंसा गर्दै वक्ताहरूले उहाँको दूरदर्शी सोच, प्रभावकारी कार्यशैली र नीतिगत नेतृत्वले वन तथा वातावरण क्षेत्रलाई नयाँ दिशा दिएको उल्लेख गरे।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश वन तथा वातावरण मन्त्री माननीय सञ्जय कुमार यादवले सचिव घिमिरेको कार्यकालमा मन्त्रालयले गरेको उपलब्धिहरू, वन संरक्षणका प्रयासहरू र नीतिगत सुधारहरू ऐतिहासिक उपलब्धिका रूपमा रहेको बताउँदै उहाँको आगामी कार्यकालका लागि सफलताको शुभकामना व्यक्त गर्नुभयो।
त्यसैगरी डिभिजन वन कार्यालय, रौतहटका कार्यालय प्रमुख हेमन्त साहले सचिव घिमिरेको मार्गदर्शनले कार्यालयको कामकाजमा सहजता, पारदर्शिता र प्रभावकारिता आएको उल्लेख गर्दै उहाँको प्रेरणा, सोच र मूल्यहरूले सम्पूर्ण वन तथा वातावरण क्षेत्रलाई अझ सबल बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
सोही समारोहमा विशेष अतिथिका रूपमा जिल्ला प्रशासन कार्यालय, रौतहटका प्रमुख बिनोद कुमार खड्गा, जिल्ला वन पैदावार आपूर्ति समिति अध्यक्ष ललित मलिक (सानु), विभिन्न विभागका प्रमुख तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति उल्लेखनीय थियो।
कार्यक्रमकै क्रममा उत्कृष्ट सामुदायिक वन, निजी वन र उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो।






