रौतहट, भदौ ९ ।रौतहटको गौरमा सुटकेस भित्र मृत अवस्थामा फेला परेकी २६ वर्षीया रुबीकुमारी साहको हत्या गौर नगरपालिका–५ स्थित एक घरमा भएको खुलासा भएको छ । प्रारम्भिक अनुसन्धानअनुसार सो घरमा डेरा गरी बस्दै आएका माधवपुरका लक्ष्मण पासवानले हत्या गरी शव व्यवस्थापन गरेको देखिएको प्रहरीले जनाएको छ ।
गत शनिबार राति करिब १० बजेतिर गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटमा रुबी साहको शव सुटकेसमा प्याक गरी फालिएको अवस्थामा भेटिएको थियो ।
प्रहरीका अनुसार शव फाल्न पासवानले गौरको कबिर चोकबाट ई–रिक्सा बुक गरेका थिए । शवसहितको सुटकेस बोकेर उनी बरहवा पुलसम्म पुगेका थिए । तर, ई–रिक्साको पाङ्ग्रा बिग्रिएपछि चालकले अर्को रिक्साको व्यवस्था गर्न खोज्दा पासवानले अस्वीकार गर्दै सुटकेस बोकेर पैदलै अघि बढेको देखिएको अनुसन्धानमा खुलेको छ ।
ई–रिक्सा चालक राजकुमार महरा अहिले प्रहरी नियन्त्रणमा छन् । उनले प्रहरीलाई दिएको बयानअनुसार पासवानले शवसहितको सुटकेस बोकेर पैदलै हिँडेको जानकारी दिएका छन् ।
अनुसन्धानमा संलग्न प्रहरीले गौर–५ को बालमन्दिर पछाडि रहेको घरमा रुबी साहको चप्पल र अन्य सामग्री समेत बरामद भएको जनाएको छ । घटना भएको दिनदेखि नै मुख्य अभियुक्त लक्ष्मण पासवान सम्पर्कविहीन रहेका कारण उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
माधवनारायण नगरपालिका–२ की रुबी साह शनिबार साँझ करिब ६ बजेतिर आमा मिथिलादेवी साहलाई फोन गरेर बजार जान लागेको बताएकी थिइन् । तर उनी घर नफर्केपछि परिवार चिन्तित बनेको थियो । राति १० बजेतिर सुटकेस देखेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए ।
प्रहरीले यस घटनालाई योजनाबद्ध हत्या मानेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।






