रुपनीमा राति लागेको आगोले ७ घर नष्ट, लाखौंको सम्पत्ति खरानी

२०८२ आश्विन २४, शुक्रबार ११:५१

सप्तरी — सप्तरीको रुपनी गाउँपालिका–१ रुपनी बजारमा बिहीबार राति भएको भीषण आगलागीमा चार परिवारका सात घर जलेर पूर्णरूपमा नष्ट भएका छन्।
बिजुलीको तार सर्ट भई राति करिब ९:४५ बजे स्थानीय सुनिल कुमार यादवको घरमा आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ।

आगो फैलिँदै जाँदा श्यामसुन्दर यादव, ललित यादव र पार्वती यादवका घरहरू समेत जलेका हुन्। आगलागीबाट घरसँगै अति आवश्यक कागजात, लत्ताकपडा, गरगहना, फर्निचर, खाद्यान्न र पशुधन जलेर करिब ४५ लाख रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ।

आगो नियन्त्रणका लागि कञ्चनरुप नगरपालिकाको वारुण यन्त्र, राजविराजस्थित बारुण गणका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी सक्रिय बनेका थिए। करिब दुई घण्टाको प्रयासपछि मात्रै आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

क्षतिको विवरणअनुसार ललित यादवको दुईवटा घर, सुन–चाँदीका गहना र फर्निचरलगायत गरी करिब ७ लाख, सुनिल यादवको दुईवटा घर र सामान गरी १५ लाख, श्यामसुन्दर यादवको घर, नगद र लत्ताकपडा गरी १५ लाख, र पार्वती यादवको घर र सामग्री गरी करिब ९ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।

आगलागीमा सुनिल यादवको एक बाख्रा र एक बोका जलेर मरेका छन् भने ललित यादवको गाई र भैंसी सामान्य घाइते भएका छन्। चौपाया बचाउने क्रममा श्यामसुन्दर यादव घाइते भएका छन्। उनलाई तत्काल उपचारका लागि मधेस प्रदेश प्रहरी अस्पताल रुपनीमा भर्ना गरिएको छ।
डिएसपी नारायण प्रसाद अधिकारीका अनुसार उनको शरीरको करिब १० प्रतिशत भाग जलेको भए पनि अवस्था सामान्य रहेको छ।

इलाका प्रहरी कार्यालय रुपनीका इन्चार्ज प्रहरी नायब निरीक्षक तुलसी यादवका अनुसार आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।

उक्त घटनाप्रति गृह मन्त्रालयले पनि राति नै चासो देखाएको र घाइतेको उपचार तथा राहत व्यवस्थापनका लागि स्थानीय सरकारसँग आवश्यक समन्वय भइरहेको गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?