मधेशमा नयाँ सत्ता समीकरणको खोजी : कांग्रेस–एमाले बाहेकका दलहरूको बैठक जारी

२०८२ आश्विन २८, मंगलवार २२:३३

२८ असोज, जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक चलहल बढ्दै गएको छ। नेपाली कांग्रेस र एमाले बाहेकका दलहरूबीच पनि वैकल्पिक सरकारको सम्भावनाबारे निरन्तर छलफल भइरहेको छ। जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा नेपाल र नेकपा एकीकृत समाजवादीका नेताहरूबीच आज बैठक जारी छ।

बैठकमा लोसपा अध्यक्ष महन्थ ठाकुर समेत सहभागी छन्। सहभागी नेताहरूका अनुसार कांग्रेस–एमालेको विकल्पका रूपमा नयाँ सत्ता समीकरण तयार पार्ने प्रयास भइरहेको छ। जसपाबाट मनिष सुमन उपस्थित छन् भने अन्य दलका शीर्ष नेताहरू पनि छलफलमा छन्।

लोसपाको नेतृत्वमा सरकार गठन गर्ने विषयमा केन्द्रित भएर कुराकानी अघि बढिरहेको स्रोतले जनाएको छ। मधेश प्रदेशसभाका १०७ सदस्यमध्ये सरकार बनाउन ५४ सांसदको समर्थन आवश्यक छ। जसपा नेपालसँग १९, जनमतसँग १३, माओवादी केन्द्र र लोसपासँग ९–९ र एकीकृत समाजवादीसँग ७ सिट छन्। यी दलहरूले हातेमालो गरे सरकार बनाउन आवश्यक बहुमत पुग्ने गणित देखिन्छ, यद्यपि लोसपाका एक सांसद निलम्बित छन्।

यता कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा एमाले र जनमत पार्टीले पनि सरकार बनाउने गृहकार्य जारी राखेका छन्। असोज २२ गते यी तीन दलले ५८ सांसदको समर्थन रहेको दाबी गरे पनि मुख्यमन्त्री सतिश सिंहको विश्वासमतको समयसीमा बाँकी रहेको भन्दै प्रदेश प्रमुखले त्यो दाबी असंवैधानिक ठहराएका थिए।

हाल पनि कांग्रेस–एमाले र जनमतबीच मन्त्रालय भागबन्डासहित नयाँ दाबी पेश गर्ने तयारी जारी छ। मधेश प्रदेशसभामा एमालेका २५, कांग्रेसका २२, नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीका एक–एक जना सांसद रहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?