आरजे इर्शाद शेख ,महोत्तरी कर्तिक १५— दलित समाज उत्थान समिति, नेपालद्वारा आयोजित २४औँ साधारण सभा शुक्रबार महोत्तरीको जलेश्वरस्थित आर.एस. थकाली होटलमा भव्यताका साथ सम्पन्न भएको छ। संस्थाको आर्थिक, सामाजिक तथा कार्यक्रमगत गतिविधिको समीक्षा, प्रतिवेदन प्रस्तुतिकरण र आगामी वर्षका योजनाको निर्धारण गर्ने उद्देश्यसहित सभा सम्पन्न गरिएको हो।
सभामा आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन भएका कार्यक्रमहरूको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा लेखा विवरण प्रस्तुत गरिएको थियो। साथै, सांस्कृतिक प्रस्तुति, लाभग्राहीहरूको अनुभव साझेदारी तथा सम्मान कार्यक्रमसमेत सम्पन्न गरियो।
प्रतिवेदनका अनुसार समितिले मधेश प्रदेशका आठ जिल्लामा बालसुरक्षा, शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण तथा समुदायिक विकासका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गरेको जनाएको छ। बाल प्रायोजन कार्यक्रममार्फत बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणमा उल्लेखनीय सुधार भएको तथा स्थानीय तह र सरोकारवालासँग सहकार्यमा सचेतना, तालिम र क्षमता विकासका कार्यक्रम सञ्चालन गरिएको बताइएको छ।
कार्यक्रमका क्रममा संस्थाको दीर्घकालीन योगदान र समर्पणको मूल्याङ्कन गर्दै प्रमुख अतिथि नन्दु महरा, संस्थापक अध्यक्ष सुनिल ठाकुर, डेजी पाण्डे, कार्यकारी निर्देशक पुनित कुमार चौधरी, कार्यक्रम संयोजक उतिम चन्द्र चौधरी तथा रेडियो अप्पन मिथिलाका पत्रकार आरजे इर्शाद शेख लगायत करिब दुई दर्जन व्यक्तिहरूलाई सम्मान प्रदान गरिएको थियो।
सभामा उपस्थित अतिथिहरूले समितिको पारदर्शी कार्यशैली, सामाजिक दायित्वप्रति समर्पण र समुदायस्तरमा प्रभावकारी कार्यक्रम सञ्चालनको प्रशंसा गर्नुभयो। लाभग्राहीहरूले पनि बालबालिकाको जीवनस्तरमा आएको सुधार र समुदायमा देखिएको सकारात्मक परिवर्तनबारे आफ्ना अनुभव साझा गरे।
कार्यक्रमको अन्त्यमा अध्यक्ष डेजी पाण्डेले सबै अतिथि, साझेदार संस्था, कर्मचारी, समाजसेवी र बाल क्लबका प्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी वर्ष अझ प्रभावकारी रूपमा समुदायमै केन्द्रित कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको अध्यक्षता डेजी पाण्डेले गर्नुभएको थियो। सभाका प्रमुख अतिथि जिल्ला समन्वय समिति, महोत्तरीका उप–प्रमुख नन्दु महरा, विशिष्ट अतिथि संस्थापक अध्यक्ष सुनिल ठाकुर तथा विशेष अतिथि एकडारा गाउँपालिकाका अध्यक्ष दीप नारायण मण्डल हुनुहुन्थ्यो। कार्यक्रममा कार्यसमिति सदस्य, समाजसेवी, परियोजनासँग सम्बन्धित कर्मचारी, पत्रकार तथा बाल क्लबका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।






