राजबिराज, १७ कार्तिक । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतले समाजको समग्र विकासका लागि खेलकुद र खेलाडीहरूको योगदान अमूल्य रहेको बताउनुभएको छ ।
अग्निसाईर कृष्णासवरण गाउँपालिका–२,इटहर्वास्थित खेलमैदानमा थ्री जिरो युवा क्लब इकराहाद्वारा आयोजित प्रथम पच्चशिल्ड फुटबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. राउतले आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र नैतिक पक्षको सन्तुलित विकासका लागि खेलकुद अत्यावश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मधेश प्रदेशका पूर्व मन्त्री सकिल मियाँ, गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी, उपाध्यक्ष कल्पना चौधरी, वडा नं.३ का अध्यक्ष गोपाल चौधरी, थारु जनमत संघका प्रदेश इन्चार्ज मन्जु चौधरी, जनमत पार्टीका जिल्ला सदस्य शैलेन्द्र गामी,ललित यादव र दुर्गानन्द यादवलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय समाजसेवीहरूको उपस्थिती रहेको थियो ।
अन्तिम खेलमा कंकालिनी युवा फुटबल टीम सितापुरले राजाजी बाबा युवा फुटबल टीम मोहनपुरलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको थियो । विजेता र उपविजेता टोलीका खेलाडीहरूलाई पदक, शिल्ड, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो ।
डा. राउतले खेलकुदले स्वस्थ नागरिक, एकताबद्ध समाज र गौरवशाली राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै विद्यालय, समुदाय र राज्यले खेल संस्कृतिको प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।








