जनकपुरधाम कार्तिक २६।धनुषाको हँसपुर नगरपालिका वडा नं. ७ नौवाखोर पर्साहीमा एक महिलाको विभत्स हत्या भएको छ । सोमबार साँझ करिब ६ बजे ६२ वर्षीया चन्द्रकला दासको धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । उनी स्थानीय विन्देश्वर दासकी श्रीमती हुन् ।
उनको शव घरदेखि करिब ५०० मिटर टाढा रहेको धानखेतमा फेला परेको हो । घटनास्थलको अवस्था हेर्दा हत्यापछि मृतक र आक्रमणकारीबीच केहीबेर रस्साकस्सी भएको अनुमान गरिएको छ । शवको घाँटी, टाउकोसहित शरीरका विभिन्न भागमा गहिरो चोटका निशान देखिएका छन् ।
हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ परेकी महिला स्थानीय बिहरिया मण्डलकी श्रीमती हुन्, जसलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
शंकाको कारण
स्थानीयहरूले पक्राउ परेकी महिलामाथि शंका तब गरे जब उनको औंला काटिएको देखियो । उनी साँझ खेतमा देखिएकी थिइन् र “घाँस काट्ने हँसियाले औंला काट्यो” भन्दै घाइते औंला देखाएकी थिइन् । तर पछि घटनास्थल नजिकै चन्द्रकला दासको शव फेला परेपछि उनीमाथि शंका गहिरिएको हो । स्थानीयका अनुसार घटनापछि उनले घर बन्द गरी श्रीमानसँगै फरार हुने प्रयाससमेत गरेकी थिइन् ।
प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।






