प्रथम जिल्ला स्तरीय प्रिन्स मेमोरियल क्रिकेट टुर्नामेन्ट–२०८२ अन्तर्गत सम्पन्न फाइनल खेलमा सर्लाही टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको छ।
विष्णुपुर गाउँपालिका–६,रञ्जितपुरमा आयोजित प्रतियोगिताको फाइनल खेल बरही–बिरपुर र सर्लाहीबीच सम्पन्न भएको थियो। खेल सुरुदेखि अन्त्यसम्म रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको थियो। दर्शकको उत्साहपूर्ण उपस्थितिका बीच सर्लाही टोलीले सशक्त खेल कौशल प्रदर्शन गर्दै उपाधि आफ्नो नाममा लेखायो।
उपाधि विजेता सर्लाही टोलीलाई नगद रु.१ लाख ११ हजार सहित ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ। उपविजेता बरही–बिरपुर टोलीले पनि नगद पुरस्कार र ट्रफी प्राप्त गरेको छ।
पुरस्कार वितरण समारोहमा जनमत पार्टीका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउत प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने कार्यक्रमको अध्यक्षता बलान–बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले गर्नुभएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, खेलप्रेमी तथा दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा.राउतले खेलकुदले युवालाई अनुशासन,नेतृत्व क्षमता र सकारात्मक सोचतर्फ प्रेरित गर्ने उल्लेख गर्नुभयो। उहाँले जनमत पार्टीको तर्फबाट खेलकुद क्षेत्रको विकासमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
आयोजकका अनुसार जिल्लामा क्रिकेट खेलको विकास,युवा प्रतिभाको पहिचान तथा खेलकुद संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले टुर्नामेन्ट आयोजना गरिएको हो। प्रतियोगितामा जिल्लाभित्रका विभिन्न टिमहरूको उत्साहजनक सहभागिता रहेको थियो।
आयोजनाले जिल्लामा खेलकुदमैत्री वातावरण निर्माण हुनुका साथै भविष्यमा राष्ट्रियस्तरका खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ। साथै आगामी वर्षहरूमा अझ व्यवस्थित र प्रतिस्पर्धात्मक क्रिकेट प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता पनि जनाएको छ।






