सरकारी जग्गा अतिक्रमण विवाद उग्रिँदा धनुषामा झडप, जनकपुर–ढल्केवर ठप्प

२०८२ पुष २६, शनिबार १३:४५

धनुषा पौष २६— धनुषाको महेन्द्रनगरस्थित स्तलोक आश्रम नजिक स्थानीय बासिन्दा र आश्रम परिसरमा रहेका व्यक्तिहरूबीच आज झडप भएको छ। झडपका क्रममा स्थानीय पक्षका नाम नखुलेका केही व्यक्ति घाइते भएका छन् ।

प्राप्त जानकारीअनुसार धनुषा जिल्लाको महेन्द्रनगर क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी रामपालसँग सम्बन्धित समूहले धर्मान्तरण केन्द्र सञ्चालन गरेको आरोप सम्बन्धी विषयलाई लिएर यसअघि भएको सहमति अनुसार आज जग्गा नापी गर्ने प्रक्रिया अघि बढाउने क्रममा तनाव उत्पन्न भएको हो। सोही क्रममा विवाद चर्किँदै जाँदा दुबै पक्षबीच झडप भएको बताइएको छ।

घटनाप्रति आक्रोशित स्थानीयहरूले विरोध स्वरूप जनकपुर–ढल्केवर सडक अवरुद्ध गरेका छन्, जसका कारण सवारी आवागमन प्रभावित भएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको छ। हाल अवस्था नियन्त्रणमा लिने प्रयास भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?