भारतको करिब रु. १ करोड ९० लाख सहयोगमा कञ्चनपुरको महेश्वर माविमा नयाँ भवन निर्माण सुरु

२०८३ श्रावण १०, आईतवार १७:३७

कञ्चनपुर, भारत सरकारको करिब रु. १ करोड ९० लाख आर्थिक सहयोगमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण कार्य सुरु भएको छ।

विद्यालय भवनको शिलान्यास काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाकी उपप्रमुख नीलम लेखक जोशीले संयुक्त रूपमा गरेका हुन्।

नयाँ भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत निर्माण हुन लागेको हो। परियोजना भीमदत्त नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ। भारतीय राजदूतावासका अनुसार यो कञ्चनपुर जिल्लामा सञ्चालन भइरहेको ११औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।

शिलान्यास कार्यक्रममा बोल्दै भीमदत्त नगरपालिकाकी उपप्रमुख नीलम लेखक जोशी तथा अन्य सरोकारवालाले नेपालमा भारत सरकारले उपलब्ध गराउँदै आएको विकास सहयोगको प्रशंसा गरेका थिए। उनीहरूले नयाँ विद्यालय भवन निर्माणसँगै विद्यार्थी र शिक्षकका लागि सुरक्षित, व्यवस्थित र गुणस्तरीय सिकाइ वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे।

भारतीय राजदूतावासले नेपाल र भारतबीचको बहुआयामिक तथा बहुक्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत प्राथमिकताका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ। साथै, यस्ता परियोजनाले नेपाल सरकारको विकास र समृद्धिको प्रयासलाई थप टेवा पुर्‍याउने विश्वास पनि व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?