माघे संक्रान्तिमा धनुषाधाम: आस्था, इतिहास र धार्मिक पर्यटनको संगम

२०८२ माघ १, बिहीबार ११:५१

जनकपुरधाम, धनुषा, माघ १: माघे संक्रान्तिका अवसरमा मेला लाग्ने नेपालका प्रमुख धार्मिक स्थलहरूमध्ये मधेश प्रदेशको राजधानी जनकपुरधामअन्तर्गत धनुषा जिल्लामा पर्ने धनुषाधाम एक महत्वपूर्ण तीर्थस्थलका रूपमा परिचित छ। प्राचीन, धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्वले भरिपूर्ण धनुषाधाम मकर संक्रान्तिका दिन विशेष भीडभाड र श्रद्धालुहरूको आकर्षणको केन्द्र बन्छ।

 

हिन्दू धर्मग्रन्थहरू—वाल्मीकि रामायण, भानुभक्तकृत रामायण तथा तुलसीकृत रामचरितमानस—मा धनुषाधामको पौराणिक वर्णन उल्लेखनीय रूपमा पाइन्छ। त्रेतायुगमा राजा जनकको दरबारमा रहेको पिनाक शिवधनुष श्रीरामले धनुषयज्ञका क्रममा उठाउँदा तीन टुक्रा भएको र त्यसको एक महत्वपूर्ण अंश यही स्थानमा खसेको धार्मिक विश्वास रहिआएको छ। सोही घटनापछि धनुषाधाम सनातन धर्मावलम्बीहरूको आस्थाको केन्द्र बनेको मानिन्छ।

 

मकर मेलाको विशेषता

मकर संक्रान्तिका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर संक्रान्ति भनिन्छ। धनुषाधाममा माघ महिनाभर प्रत्येक आइतबार र मंगलबार मकर मेला विशेष धूमधामका साथ लाग्ने परम्परा छ। मेलामा ऋषिमुनि, साधुसन्त, आन्तरिक तथा बाह्य पर्यटकहरूको उल्लेखनीय उपस्थिति देखिन्छ।

धनुष मन्दिर, बालगंगा सरोवर, चट्टीबाबाको कुटी लगायत स्थलहरू श्रद्धालुहरूका प्रमुख गन्तव्य हुन्। मेलामा तेजपात (पतरक) लगायत मसला सामग्रीको व्यापार, घ्यू–खिचडी भण्डारा, धार्मिक अनुष्ठान तथा प्राकृतिक सौन्दर्यबीच पिकनिकको माहोल समेत देखिन्छ।

 

माघे संक्रान्तिको धार्मिक मान्यता

माघे संक्रान्ति माघ महिनाको पहिलो दिनदेखि करिब पाँच दिनसम्म मनाइन्छ। नदी–सरोवरमा स्नान, सूर्यलाई जल अर्पण, तिलका लड्डु, चाकु, तरुल तथा कन्दमूल सेवन, घ्यू–खिचडीको भोग र दान–पुण्य गर्ने परम्परा रहेको छ। चिसोबाट बच्न तिल–गुड तथा घ्यूका परिकार बनाइ घुर ताप्ने चलनले सामाजिक सद्भावलाई समेत बलियो बनाउँछ।

 

बाटोमा पर्ने अन्य तीर्थस्थल

धनुषाधाम जाने क्रममा परशुराम तलाव र मिथिला विहारी जस्ता ऐतिहासिक धार्मिक स्थलहरू पनि महत्वपूर्ण छन्। परशुराम तलाव क्षेत्रमा सरोवर, आश्रम, शिवलिङ्ग तथा परशुराम भगवानको विशाल मूर्ति रहेका छन्। रामायण अनुसार धनुष भाँचिएको खबर सुनेर परशुराम ऋषिको आगमन र श्रीराम–लक्ष्मणसँगको संवाद यही प्रसङ्गसँग जोडिन्छ।

मिथिला विहारी (ठेराकचुरी/तारापट्टीकचुरी) स्थलबाट जनकपुरधामको १५ दिने माध्यमिकी परिक्रमा (महाशिवरात्रिपछि) शुभारम्भ हुने परम्परा छ, जसले नेपाल–भारतका सीमासँग जोडिएका १५ प्रमुख तीर्थस्थल समेट्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?