जनकपुरधाम ,माघ ७ :राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) हिजो झापामा उम्मेदवारी दर्ता गर्न जाने क्रममा एकपटक असन्तुष्ट (रिसाएको) देखिएका छन्। उक्त असन्तुष्टिको कारण निर्वाचन आचारसंहिता उल्लङ्घन हुने सम्भावना रहेको बुझिएको छ।
निर्वाचन नियम अनुसार उम्मेदवारी मनोनयनका बेला २५ जनाभन्दा बढी समर्थकलाई साथमा लैजान नपाइने व्यवस्था छ। तर उम्मेदवारी दर्ता गर्न जाने क्रममा निर्धारित संख्याभन्दा बढी समर्थकहरूको भीड उपस्थित भएपछि नियम विपरीत हुने र उम्मेदवारी नै खारेज हुन सक्ने अवस्था सिर्जना भएको थियो।
यसै कारण बालेन शाहले समर्थकहरूलाई बिन्ती गर्दै “नआइदिनुस्, पछाडि जानुस्” भनेर आग्रह गरेका थिए। तर आग्रह मानिएन र भीड नियन्त्रणमा नआएपछि उनले आफ्नै व्यवस्थापन (मेनेजमेन्ट) टिमप्रति असन्तुष्टि जनाउँदै पछाडि हट्न संकेत गरेका थिए, जसको भिडियो सामाजिक सञ्जालमा फैलिएको छ।
उक्त भिडियोका आधारमा सामाजिक सञ्जालमा विभिन्न नकारात्मक कथाहरू बनाउँदै भाइरल बनाइएको छ। तर वास्तविकता भने उम्मेदवारी जोगाउन र निर्वाचन आचारसंहिताको पालना गराउन गरिएको कडाइ रहेको बुझिन्छ।
यद्यपि, सबै प्रक्रिया पूरा गर्दै बालेन शाहको उम्मेदवारी दर्ता सफलतापूर्वक सम्पन्न भएको छ।






