लहान ब्रिलियन्ट एजुकेशन एकेडेमीको होस्टेलबाट माघ १२ गते सम्पर्कविहीन १२ वर्षीय बालक माघ १८ गते घर फर्किए, विद्यालय–होस्टेलको भूमिकामा गम्भीर प्रश्न

२०८२ माघ २०, मंगलवार १९:०९

काठमाडौँ माघ २० :  सप्तरी डाक्नेश्वरी नगरपालिका–९ लक्षणपट्टि निवासी जीवछ यादवका १२ वर्षीय छोरा प्रीन्स यादव सिरहाको लहानस्थित Lahan Brillant Education Academy को छात्रावासमा बस्दै आएका थिए। उनी माघ १२ गते सोमबारदेखि होस्टेलबाटै सम्पर्कविहीन बनेका थिए भने ६ दिनपछि माघ १८ गते आइतबार आफैं आफ्नो जन्मस्थल लक्षणपट्टि घर फर्किएका छन्।

घर फर्किएपछि बालकसँग कहाँ गएका थिए र कसरी बिते ती दिन भन्ने विषयमा सोध्दा प्रीन्स यादवले ६–७ दिनको अवधिमा कहाँ गएको, कहाँ खाएको, कहाँ बसेको भन्ने कुनै जानकारी नभएको बताएका छन्। बालकका अनुसार आफूलाई स्कुलमा भएको घटनासम्म मात्रै याद छ, त्यसपछि के भयो भन्ने कुनै जानकारी छैन।

बालकका अनुसार माघ ११ गते सोमबार उनले स्कुलमा शिक्षकसँग घरमा फोन गर्न अनुमति मागेका थिए। शिक्षकले फोन लगाइदिएपछि आमासँग कुरा भएको र आफू घर आउँछु भनेकोमा आमाले घर आउनु पर्दैन भनेपछि फोन काटिएको थियो। त्यसको भोलिपल्ट माघ १२ गते सोमबार नै स्कुलमा टिपिनको बेला उनले महेश सरसँग घर जान अनुमति माग्दा जानुस् भनिएको र त्यसपछि आफ्नो सामान मिलाएर स्कुलबाट निस्किएको बताएका छन्। त्यतिसम्म मात्रै थाहा भएको र त्यसपछि के भयो भन्ने जानकारी नभएको उनको भनाइ छ।

यस विषयमा News A1 ले Lahan Brillant Education Academy का प्रिन्सिपलसँग सम्पर्क गर्दा प्रिन्सिपलले बालकका अभिभावकसँग कुरा भएको दाबी गरेका छन्। उनका अनुसार माघ ११ गते आइतबार बालक को आमासँग कुरा भएपछि बालकलाई घर पठाइएको थियो। तर अभिभावक पक्षले भने स्कुल वा होस्टेलबाट कुनै पनि बेला बच्चा घर पठाइएको जानकारी नआएको स्पष्ट पारेका छन्।

बालकका बुबा जीवछ यादवका अनुसार स्कुल वा होस्टेलबाट बच्चा घर गएको, पठाइएको वा सुरक्षित पुगे नपुगेकोबारे कुनै फोन, सूचना वा जानकारी आएको थिएन। माघ १२ गतेपछि दुई–तीन दिनसम्म स्कुलबाट कुनै खबर नआएको र पछि स्कुलमा फोन गर्दा बच्चा सोमबार नै घर गएको भनिएको उनले बताए। सोही दिन मात्रै आफूहरूलाई बच्चा हराएको थाहा भएको उनको भनाइ छ।

अभिभावक पक्षका अनुसार बच्चा माघ १२ गतेदेखि सम्पर्कविहीन भएको थाहा पाउँदा समेत विद्यालय प्रशासनले कुनै खोजबिन नगरेको, प्रहरी कार्यालयमा जानकारी नदिएको र प्रहरीमा खबर दिनु पर्दैन भन्दै दबाब दिएको आरोप छ। प्रिन्सिपल महेश यादवले आफूहरूको कुनै गल्ती नरहेको, होस्टेलबाट बच्चा नहराएको र स्कुलको नाम नल्याउन दबाब दिएको अभिभावकको दाबी छ।

यसबाहेक प्रिन्सिपल महेश यादवका भान्जा बताउने निवेश यादवले पटक–पटक News A1 मा फोन गरी स्कुल वा होस्टेलको कुनै गल्ती नरहेको, गलत समाचार लेखिएको भन्दै सच्याउन दबाब दिएको पनि समाचार कक्षले जनाएको छ।

News A1 ले विद्यालयको प्रिन्सिपलसँग सिसिटिभी फुटेज र कल डिटेल माग्दा फुटेज भएको दाबी गरिए पनि मेमोरी निकालिएको छ, कसले निकाल्यो थाहा छैन भन्दै उपलब्ध नगराइएको जनाइएको छ। कल डिटेलको नाममा भने माघ ११ गते सोमबारको १७ सेकेन्डको एउटा मात्रै कल रेकर्ड देखाइएको बताइएको छ।

माघ १२ गतेदेखि ६ दिनसम्म सम्पर्कविहीन रहेका १२ वर्षीय बालक माघ १८ गते आफैं जन्मस्थल लक्षणपट्टि घर फर्किए पनि विद्यालय–होस्टेल प्रशासनको लापरबाही, सूचना नदिने प्रवृत्ति, खोजबिन नगर्ने रवैया र प्रहरीलाई खबर गर्न नदिन खोजिएको आरोपले घटनालाई गम्भीर बनाएको छ। बाल अधिकार, विद्यार्थीको सुरक्षा र विद्यालयको जिम्मेवारीमाथि यो घटनाले गम्भीर प्रश्न खडा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?