सप्तरीमा कार्यरत प्रहरी जवानको वीरगन्जमा हत्या, ४ पक्राउ

२०८२ चैत्र ३०, सोमबार ०९:४७

वीरगन्जमा एक प्रहरी जवानको हत्या भएको घटनामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटका २६ वर्षीय सन्तोष साह, उनकी २४ वर्षीया पत्नी सोनी साह, बाराका १९ वर्षीय विशाल साह तथा भारतका १९ वर्षीय कन्हैया कुमार रहेका छन्।

मृतक २८ वर्षीय विकास चौरसिया जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान रहेको पुष्टि भएको छ। उनी कार्यक्षेत्र भने सप्तरीमै रहे पनि घटना वीरगन्ज महानगरपालिका–९ मुर्लीमा भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार, आइतबार साँझ करिब ४:४० बजे फिरोज मियाको घरमा एक व्यक्ति गम्भीर घाइते अवस्थामा रहेको सूचना प्राप्त भएको थियो। सोही सूचनाको आधारमा प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो।

घटनास्थलमा पुगेको प्रहरी टोलीले चौरसियालाई शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरिएको र अत्यधिक रक्तश्रावका कारण गम्भीर अवस्थामा फेला पारेको जनाएको छ। उनलाई तत्काल उपचारका लागि नारायणी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?