काठमाडौँ — सुधन गुरुङ र रवि लामिछानेबीच सोमबार बिहान भेटवार्ता भएको छ। स्रोतका अनुसार गृहमन्त्रीसमेत रहेका गुरुङ बुढानीलकण्ठस्थित लामिछानेको निवास पुगेर छलफल गरेका हुन्।
गुरुङ हाल सम्पत्ति शुद्धीकरण मुद्दाका अभियुक्त दीपक भट्ट तथा व्यापारिक घराना शंकर ग्रुपसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि विवादमा तानिएका छन्। उक्त खुलासापछि उनीमाथि नैतिकता र पारदर्शिताको प्रश्न उठ्दै आएको छ।
गोरखा–१ बाट निर्वाचित गुरुङ चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका थिए। तर पछिल्लो विवादपछि पार्टीभित्र उनको भूमिकाबारे गम्भीर छलफल सुरु भएको छ। उच्च तहका नेताहरूबीच उनलाई कारबाही गर्ने वा नगर्ने विषयमा आन्तरिक परामर्श भइरहेको बताइएको छ।
यसैक्रममा, सोमबार बस्ने केन्द्रीय समिति बैठकलाई निर्णायक रूपमा हेरिएको छ। बैठकले गुरुङमाथि कारबाही गर्ने वा उनलाई निरन्तरता दिने भन्नेबारे निर्णय लिन सक्ने स्रोतको भनाइ छ।
यता, पार्टी अनुशासन आयोगले पनि घटनाबारे अध्ययन सुरु गरिसकेको छ। आयोगले आवश्यक प्रक्रिया अघि बढाउँदै गुरुङको विषयमा सिफारिस तयार पार्ने तयारी गरेको जनाइएको छ।
यो प्रकरणले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र आन्तरिक दबाब बढाएको छ भने गुरुङको राजनीतिक भविष्य पनि अन्योलमा परेको छ।






