जनकपुरधाम: चितवन र झापाका किसानले प्रतिदर्जन ५० देखि ८० रुपैयाँमा केरा बिक्री गरिरहेका छन् । तर, सोही केरा उपभोक्तासम्म पुग्दा २५० देखि ४०० रुपैयाँसम्ममा बिक्री भइरहेको पाइएको छ ।
उत्पादनका क्रममा लाग्ने श्रम, लागत र जोखिम किसानले नै व्यहोरे पनि मुनाफाको ठूलो हिस्सा भने बिचौलियाको हातमा जाने गरेको छ । यसले बजारमा मूल्य असन्तुलन बढाएको र उपभोक्ताले अत्यधिक मूल्य तिर्नुपरेको अवस्था सिर्जना भएको छ ।
सम्बन्धित निकायको प्रभावकारी अनुगमन अभाव र वितरण प्रणालीमा पारदर्शिता नहुँदा यस्तो अवस्था आएको सरोकारवालाहरू बताउँछन् । बजार नियन्त्रण र किसानलाई उचित मूल्य सुनिश्चित गर्न तत्काल कदम चाल्नुपर्ने माग उठ्न थालेको छ ।






