काठमाडौँ ; नेपाल युवा संघ (YAN) ले मधेश क्षेत्रमा लागू गरिएको भन्सार नीतिले सर्वसाधारणको दैनिक जीवनमा गम्भीर प्रभाव पारेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। संगठनले मधेसी आयोगलाई बुझाएको ज्ञापनपत्रमार्फत हालको नीति पुनर्विचार गर्न आग्रह गरेको हो।
ज्ञापनपत्रमा उल्लेख भएअनुसार मधेशको भौगोलिक, सामाजिक तथा आर्थिक अवस्था देशका अन्य क्षेत्रभन्दा फरक रहेको छ। सीमावर्ती क्षेत्रका नागरिकहरू परम्परागत रूपमा सीमापार बजारमा निर्भर रहँदै आएका छन्। तर, नेपाल सरकारले लागू गरेको कडा भन्सार व्यवस्थाले विशेषगरी गरिब, मजदुर, किसान तथा विपन्न समुदाय प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
YAN का अनुसार १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार लगाउने व्यवस्था वर्तमान आर्थिक अवस्थामा अव्यवहारिक भएको छ। यसले दैनिक उपभोग्य वस्तुमा समेत अतिरिक्त भार थपेर जनजीवन झन् कठिन बनाएको उल्लेख गरिएको छ।
त्यसैगरी, नेपाल–भारतबीचको ‘रोटी–बेटी’ सम्बन्धमा आधारित सामाजिक तथा सांस्कृतिक गतिविधिमा समेत अवरोध सिर्जना भएको जनाइएको छ। विवाह, चाडपर्व तथा धार्मिक कार्यमा प्रयोग हुने सामानमा भन्सार लगाइनुले सांस्कृतिक अधिकारमाथि असर परेको भन्दै संगठनले चिन्ता व्यक्त गरेको छ।
संगठनले सीमामा हुने कडाइका क्रममा सामान जफत, दुव्र्यवहार तथा अन्य अप्रिय घटनाहरू बढ्दै गएको पनि जनाएको छ। यस्तो अवस्थाले स्थानीय बासिन्दामा असुरक्षा र त्रासको वातावरण सिर्जना गरेको उल्लेख गरिएको छ।
YAN का अध्यक्ष राहुलराज यादवले मधेश क्षेत्रमा देखिएको दमन, अन्याय तथा मानवअधिकार उल्लङ्घनका घटनाप्रति सम्बन्धित आयोग गम्भीर बन्नुपर्ने माग गरेका छन्। उनले राज्यले नागरिकको जीवन सहज बनाउने नीतिहरू अपनाउनुपर्नेमा जोड दिएका छन्।






