काठमाडौं। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलको १३औं महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। वैशाख १९ गतेदेखि लागू हुनेगरी उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
सशस्त्र प्रहरीका वर्तमान महानिरीक्षक राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी वैशाख १८ गते अवकाश पाउँदैछन्। उनी २०७९ वैशाख १८ गते आईजीपी नियुक्त भएका थिए।
सशस्त्रको आईजीका निम्ति पौडेलसँगै अर्का एआईजी बंशीराज दाहाल पनि प्रतिस्पर्धामा थिए। उनी पनि प्रहरीको १११औं टोलीकै अधिकृत हुन्। तर, एआईजी बढुवा हुँदा पौडेल अगाडि भए। उनको बढुवा २०७९ जेठ ६ गते भएको थियो। दाहाल भने २०७९ असोज २८ मा एआईजी बढुवा भएका थिए।
डीआईजी बढुवादेखि नै दाहाल पौडेलभन्दा पछाडि परेका थिए। पौडेल २०७५ कात्तिक १३ मा डीआईजी बढुवा भएका हुन् भने दाहाल २०७६ माघ २२ मा बढुवा भएका थिए।
सरकारले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ५३ बमोजिम पौडेललाई आईजी नियुक्त गरेको हो। उक्त नियममा ज्येष्ठता र कार्यकुशलता, नेतृत्व क्षमता र आर्थिक अनुशासन, व्यवस्थापकीय एवं रचनात्मक क्षमता एवं तल्लो तहका कर्मचारीलाई प्रोत्साहन र परिचालन गर्ने सामथ्र्यका आधारमा आईजी नियुक्त गर्ने व्यवस्था छ।
यसैगरी सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारीक कारोवार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने समेत मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
१. सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारीक कारोवार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने र सो सम्बन्धि सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने।
२. भन्सार नियमावली २०८३ स्वकृत गर्ने।
३. सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र प्रहरी महानिरिक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त प्रहरी महानिरिक्षक श्री नारायणदत्त पौडेललाई बढुवा नियुक्ति गर्ने।






