महोत्तरी: महोत्तरीको जलेश्वरमा प्रारम्भिक बालविकास केन्द्रका शिक्षकहरूका लागि आयोजित पाँच दिने विशेष तालिम आइतबार सफलतापूर्वक सम्पन्न भएको छ । “गुणस्तरीय समावेशी प्रारम्भिक बालविकास तथा शिक्षाका लागि साझेदारी” भन्ने मूल नाराका साथ वैशाख ९ गतेदेखि सुरु भएको सो तालिम शिक्षकहरूको दक्षता अभिवृद्धि गर्दै सम्पन्न भएको हो ।

रतौली युवा क्लब (RYC) को आयोजना, सेभ द चिल्ड्रेन र सार्क डेभलपमेन्ट फण्डको साझेदारी तथा पिपरा गाउँपालिकाको समन्वयमा यो कार्यक्रम सञ्चालन गरिएको थियो । जलेश्वर–२ स्थित मामाज किचनको सभाहलमा आयोजित तालिमको मुख्य उद्देश्य शिक्षकहरूलाई पाठ्यक्रममा आधारित साक्षरता र गणितीय सीपका बारेमा दक्ष बनाउनु रहेको आयोजकले जनाएको छ ।

तालिमको मुख्य उद्देश्य पिपरा गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास केन्द्र (ECED) का शिक्षकहरूलाई पाठ्यक्रममा आधारित साक्षरता र गणितीय सीपका बारेमा दक्ष बनाउनु रहेको थियो। तालिमका दौरान शिक्षकहरूलाई निम्न विषयमा प्रशिक्षित गरिएको थियो:
सर्वाङ्गीण विकास: एकीकृत बालविकासको मर्म अनुसार बालबालिकाको शारीरिक, मानसिक र रचनात्मक विकासका लागि क्रियाकलाप सञ्चालन गर्ने।
स्थानीय सामग्रीको प्रयोग: महँगो शैक्षिक सामग्रीको साटो स्थानीय स्तरमै उपलब्ध वस्तुहरूबाट सिकाउने सामग्री निर्माण गर्ने।
अभिलेख व्यवस्थापन: बालबालिकाको दैनिक प्रगति र केन्द्रका गतिविधिहरूलाई व्यवस्थित रूपमा अभिलेख राख्ने सीप।
तालिमको समापन समारोहमा बोल्दै रतौली युवा क्लबका अध्यक्ष शाकिर खानले बालबालिकाको भविष्य निर्माणको पहिलो खुड्किलो बालविकास केन्द्र र परिवार नै भएको बताउनुभयो । उहाँले तालिममा सिकेका सीपलाई कक्षाकोठामा व्यवहारिक रूपमा उतार्न शिक्षकहरूलाई आग्रह समेत गर्नुभयो ।
त्यसैगरी, पिपरा गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्रवण यादवले रतौली युवा क्लबद्वारा सञ्चालित यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गर्दै तालिमको सार्थकता कक्षाकोठाको सिकाइ उपलब्धिमा देखिनुपर्नेमा जोड दिनुभयो ।
प्रशिक्षक झलकुमारी कार्कीले बालबालिकाको बौद्धिक विकासका लागि चित्र र रचनात्मक माध्यमबाट सिकाउनु पर्ने प्राविधिक पक्षबारे प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा सहभागी शिक्षकहरूलाई प्रमाणपत्र, तालिम सामग्री र झोला (ब्याग) वितरण गरिएको थियो ।
कार्यक्रममा रतौली युवा क्लबका अध्यक्ष शाकिर खान, पिपरा गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्रवण यादव, शिक्षा अधिकृत गोविन्द लाल कर्ण, शिवशंकर चौधरी र मुख्य प्रशिक्षक झलकुमारी कार्की सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।






