गृहमन्त्रीको ‘गोप्य अपरेशन’: सर्वसाधारणको भेषमा बारा र पर्साका नाकाको छड्के, सुरक्षा संयन्त्रमा खैलाबैला

२०८३ असार १४, आईतवार १६:३७

वीरगन्ज। गृहमन्त्री सुदन गुरुङले बारा र पर्साको अत्यन्तै संवेदनशील मानिने सीमावर्ती क्षेत्रहरूमा सुरक्षा निकायलाई समेत पूर्वजानकारी नदिई गोप्य रूपमा ‘छड्के अनुगमन’ गरेका छन्।

चितवनमा सम्पन्न रास्वपाको राष्ट्रिय महाधिवेशनको व्यस्त कार्यतालिका लगत्तै शनिबार बिहान वीरगन्ज आइपुगेका गृहमन्त्री गुरुङले आफ्नो नियमित सुरक्षा टोली, जिल्लाका उच्च सुरक्षा अधिकारी र औपचारिक सञ्चार संयन्त्रलाई समेत बाहिरै राखेर सुटुक्क स्थलगत निरीक्षण गरेका हुन्।

सामान्य पोसाकमा मास्क, टोपी र हाफ टिसर्ट लगाएर कसैले चिन्न नसक्ने रूपमा सीमा क्षेत्रमा पुग्नुभएका मन्त्री गुरुङले पर्सा र बाराका मुख्य नाकाहरू जानकी टोला, मटिअर्वा र अलौँ लगायतका क्षेत्रहरूको प्रत्यक्ष अवलोकन गरेका थिए।

यस आकस्मिक तथा गोप्य भ्रमणबारे स्वयं मन्त्रीको सचिवालयले समेत कुनै औपचारिक जानकारी सार्वजनिक नगरेको हुँदा सीमा क्षेत्रको सुरक्षा र प्रशासनिक जिम्मेवारी सम्हालेका बारा र पर्साका जिल्ला प्रशासन कार्यालय तथा मातहतका प्रहरी प्रशासन पूर्ण रूपमा अनभिज्ञ रहेका थिए।

खुला सीमाका कारण लामो समयदेखि सुरक्षा चुनौती र अवैध आर्थिक गतिविधि व्यहोर्दै आएका यी नाकाहरूको अनुगमनका क्रममा गृहमन्त्री गुरुङले नाका क्षेत्रका स्थानीय बासिन्दा तथा ज्येष्ठ नागरिकहरूसँग सीमापार भइरहेको तस्करी, राजस्व चुहावट र सुरक्षा व्यवस्थाको प्रभावकारिताका विषयमा प्रत्यक्ष सोधपुछ तथा अन्तरक्रिया गरेका थिए।

मन्त्री आफैं सर्वसाधारणको भेषमा आएको थाहा नपाएका स्थानीयले सीमा सुरक्षा र तस्करीको यथार्थ अवस्थाबारे निर्धक्कसँग आफ्ना कुराहरू राखेका थिए।

शनिबार गृहमन्त्रीले गरेको सोही छड्के अनुगमनको एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै सुरक्षा वृत्तमा ठूलो खैलाबैला मच्चिएको छ। सार्वजनिक भएको भिडियोमा गृहमन्त्री गुरुङसँग कुराकानी गर्दै स्थानीयवासीले सीमा सुरक्षाको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलकै स्थानीय अधिकारीहरूको प्रत्यक्ष मिलेमतोमा नाकाहरूबाट व्यापक रूपमा तस्करी भइरहेको गम्भीर दाबी गरेका छन्।

भिडियोमा संवाद गरिएको स्थान कुन नाकाको हो भन्ने स्पष्ट नभए पनि यसले सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूको कार्यशैलीमाथि गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ।

नेपाल-भारत खुला सिमानाका कारण हुने गरेका अवैध गतिविधि रोक्न मन्त्रालय सम्हालेदेखि नै कडा रूपमा प्रस्तुत हुँदै आउनुभएका गृहमन्त्री गुरुङको यो कदमलाई सुरक्षा संयन्त्रभित्र सुधार ल्याउने नयाँ रणनीतिका रूपमा हेरिएको छ।

प्रायः भीआईपी सवारी र ठूलो सुरक्षा घेराका बीच हुने औपचारिक अनुगमनबाट नाकाहरूको वास्तविक वस्तुस्थिति थाहा नहुने भएकाले मन्त्रीले आफैँ भुइँतहमा पुगेर यस्तो अपरेशन चलाएको स्रोतको भनाइ छ।

चितवनको माडी हुँदै ठोरी नाकाबाट पर्सा प्रवेश गरेर बारासम्मका सीमा नाकाहरूको वस्तुस्थिति प्रत्यक्ष रूपमा बुझेपछि गृहमन्त्री गुरुङ शनिबार नै काठमाडौं फर्किसकेका छन्।

मन्त्रीको यस ‘सरप्राइज’ एक्सन र स्थानीयले लगाएको मिलेमतोको आरोपपछि गृह मन्त्रालयले सीमा क्षेत्रमा खटिएका सशस्त्र र नेपाल प्रहरीका कतिपय अधिकारीहरूमाथि आन्तरिक छानबिन गरी जिम्मेवारी हेरफेर गर्ने तथा कडा ड्युटी प्रणाली लागू गर्ने तयारी थालेको बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?