सञ्चारगृहमा गाडी तेर्स्याइएको घटनाप्रति रास्वपाको ध्यानाकर्षण, आफ्नै नेता जोडिएकोबारे भने मौन

२०८३ असार २९, सोमबार १७:३०

काठमाडौं। राजधानीका प्रमुख सञ्चारगृह र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको निवास अगाडि शंकास्पद रूपमा गाडी तेर्स्याएर अवरोध सिर्जना गरिएको घटनाप्रति सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सोमबार पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा सञ्चारमाध्यम र पत्रकारलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले गरिएका यस्ता गतिविधिलाई लोकतान्त्रिक मूल्य-मान्यताको ठाडो उल्लंघन भन्दै भर्त्सना गरिएको छ।

रास्वपाले विज्ञप्ति मार्फत घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गरिरहँदा, कान्तिपुर पब्लिकेसन्सको गेट अवरुद्ध गर्ने बा ०१-०३४ च ८४८० नम्बरको गाडी भने रास्वपाकै ‘केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभाग’का सदस्य रवि जयसवालले प्रयोग गर्दै आएको खुलिसकेको छ।

सानिमा बैंकको नाममा रहेको उक्त गाडी आफ्ना छोरा रविले नै चढ्ने गरेको उनका बुबा एवं रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जयसवालले स्वीकार गरिसकेका छन्। तर, रास्वपाको आधिकारिक विज्ञप्तिमा आफ्नै पार्टीका केन्द्रीय नेताको गाडी यस घटनामा प्रयोग भएको विषयमा भने कुनै उल्लेख गरिएको छैन।

सोमबार बिहानै तीनकुनेस्थित कान्तिपुर मिडिया हाउस, मध्यबानेश्वरको हिमालय टेलिभिजन र नयाँ बानेश्वरको अनलाइनखबरको बुथ अगाडि नियोजित रूपमा गाडी राखेर पत्रकारहरूको आवागमन अवरुद्ध पारिएको थियो।

त्यसको केही समय लगतै रातोपुलस्थित कांग्रेस महामन्त्री गगन थापाको घरको मूल ढोका नै थुनिने गरी अर्को गाडी तेर्स्याइएको थियो। प्रत्यक्षदर्शीका अनुसार थापाको निवास अगाडि गाडी छाड्ने चालक लगत्तै प्रहरीकै भ्यानमा चढेर बाहिरिएका थिए। ती सबै सवारी साधनलाई प्रहरीले क्रेनको सहायताले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

रास्वपाले स्वतन्त्र प्रेस र नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारको पक्षमा पार्टी दृढ रहेको उल्लेख गर्दै प्रेस क्षेत्रलाई त्रसित बनाउने प्रयास स्वीकार्य नहुने स्पष्ट पारेको छ। स्वतन्त्र र भयरहित पत्रकारिता लोकतन्त्रको ‘प्राणवायु’ भएको भन्दै गृह मन्त्रालय र सुरक्षा निकायसँग सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न माग गरिएको छ।

साथै, रास्वपाले सञ्चारकर्मीहरूलाई कुनै पनि दबाब वा त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारितालाई निरन्तरता दिन आग्रह गर्दै आफूहरू पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सधैं उभिने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?