३२ असार, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले विहिवार मिटरब्याजीको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ बस्ने हरेराम साह, निजको आमा रेखा कुमारी साह र निजको काका गोपाल साहलाई पक्राउ गरिएको हो ।
हरेरामलाई काठमाण्डौं बाट तथा निजको आमालाई भारत भाग्ने क्रममा जटही चेकपोष्टबाट र निजको काकालाई पिडारी चोकस्थित जानकीवाटिका होटलबाट पक्राउ गरिएको हो । हरेरामका बुवा बलराम साह भने हाल फरार छन् ।
पक्राउ परेकाहरु माथि अनुचित लेनदेन सम्बन्धि मुद्दा दर्ता भई म्याद थपको तयारी भईरहेको धनुषाका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले बताउनुभयो । प्रहरीले हरेरामको अफिसमा छापामारीसमेत गरेको थियो, यद्यपी यस सन्दर्भमा खुलाउन नमिल्ने न्यौपानेको भनाई थियो ।
विभिन्न कृषि कम्पनीको नाममा सरकारी अनुदान लिने र सोही रकमको दुरुपयोग गरि कडा मिटर ब्याजमा लगाउने गरेको पीडितहरुको आरोप छ ।
जग्गा रजिष्ट्रेशन पास गरेर चर्को ब्जाजमा ऋण दिने, दैनिक चर्को ब्याजमा पैसाको कारोबार गर्ने यिनीहरुका कारण १ सय भन्दा बढी परिवार पिडित बनेको मिटर ब्याज पीडित संघर्ष समितिको भनाई छ ।






