वाग्मती नदीको तीव्र कटानले टौदहका बस्ती जोखिममा, संरक्षणमा ढिलाइ हुँदा बढ्दै चिन्ता

२०८३ असार ३१, बुधबार ११:४७

कीर्तिपुर (काठमाडौँ)। काठमाडौँ उपत्यकाको प्रमुख प्राकृतिक तथा पर्यटकीय सम्पदामध्ये एक टौदह अहिले वाग्मती नदीको तीव्र कटानका कारण उच्च जोखिममा परेको छ। पछिल्ला दुई वर्षयता वाग्मती नदीले धार परिवर्तन गरी पश्चिमी किनारातर्फ निरन्तर कटान गर्न थालेपछि टौदहको पूर्व र दक्षिणतर्फ रहेका बस्तीहरू जोखिममा परेका हुन्। स्थानीयले समयमै संरक्षणका काम अघि नबढाइए टौदहको अस्तित्व नै संकटमा पर्न सक्ने बताएका छन्।

स्थानीय मिलन खड्ले भन्छन्, “वाग्मती नदीको कटानले टौदहपूर्वका बस्ती जोखिममा परेका छन्। अहिले नै पूर्वतर्फका कान्लाबाट टौदहको पानी चुहिन थालेको छ। समयमै केही नगर्ने हो भने टौदहको अस्तित्व नै संकटमा पर्छ।”

स्थानीयका अनुसार ललितपुर महानगरपालिकाले वाग्मती नदीको पूर्वी किनारामा संरक्षण पर्खाल निर्माण गरेपछि नदीको बहाव पश्चिमतर्फ केन्द्रित भएको छ। त्यसपछि नदीले कीर्तिपुरतर्फको किनारामा एकोहोरो कटान गरिरहेको छ।

यसैबीच, टौदहको पश्चिमी क्षेत्रमा रहेको दूधपोखरीबाट बग्ने खहरे खोलाले पनि कटानलाई थप तीव्र बनाइरहेको स्थानीयहरू बताउँछन्। स्थानीय अन्जिल खड्का भन्छन्, “दक्षिणकाली नगरपालिकाले आफ्नो क्षेत्रतर्फ संरक्षण पर्खाल निर्माण गरिरहेको छ, तर कीर्तिपुर नगरपालिकाले आवश्यक पहल नगर्दा कटान नियन्त्रणको काम प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन।”

सीमाङ्कन विवादले रोकियो संरक्षण योजना

स्थानीयका अनुसार वाग्मती नदीको कटानबाट टौदह र आसपासका बस्ती जोगाउन विभिन्न सरकारी निकायले तटबन्ध, टेवा पर्खाल तथा अन्य संरक्षणका योजनाका लागि पटक–पटक बजेट विनियोजन गरेका छन्। तर सीमाङ्कनको विवादका कारण ती योजना कार्यान्वयन हुन सकेका छैनन्।

अन्जिल खड्का भन्छन्, “हामीले पटक–पटक वाग्मती सभ्यतासँग सीमाङ्कन गरिदिन आग्रह गरेका छौँ, तर आजसम्म कुनै काम भएको छैन। सीमाङ्कन नभएकै कारण निर्माण व्यवसायीले पनि काम सुरु गर्न मानेका छैनन्।”

उनका अनुसार यही कारण संरक्षणका लागि छुट्याइएको बजेटसमेत खर्च हुन नसकी फिर्ता जाने अवस्था दोहोरिँदै आएको छ।

तत्काल संरक्षणको माग

स्थानीयले टौदह केवल स्थानीय बासिन्दाको मात्र नभई काठमाडौँ उपत्यकाको महत्वपूर्ण प्राकृतिक, धार्मिक तथा पर्यटकीय सम्पदा भएकाले यसको संरक्षणमा सम्बन्धित सबै निकायले तत्काल समन्वय गर्नुपर्ने माग गरेका छन्। उनीहरूले सीमाङ्कनको विवाद छिट्टै समाधान गरी नदी नियन्त्रण, तटबन्ध निर्माण र कटान रोकथामका दीर्घकालीन योजना कार्यान्वयन गर्न आग्रह गरेका छन्।

समयमै प्रभावकारी संरक्षणका उपाय अवलम्बन नगरिए वाग्मती नदीको निरन्तर कटानले टौदहको भूभाग, आसपासका बस्ती तथा प्राकृतिक सम्पदामा गम्भीर क्षति पुग्ने स्थानीयको चिन्ता छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?