शंकास्पद गाडी पार्किङ घटनामा मनिष झाको प्रश्न-‘यस्तो बचपना देखाएर राजकाज चल्छ?’

२०८३ असार ३१, बुधबार ११:१६

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मनिष झाले सञ्चार गृह तथा अन्य स्थानमा शंकास्पद रूपमा सवारीसाधन राखेर अवरोध सिर्जना गरिएको घटनाप्रति कडा आपत्ति जनाएका छन्। उनले घटनामा संलग्न जोसुकै भए पनि निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन्।

नेता झाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सञ्चार संस्था र अन्य सार्वजनिक स्थानमा गाडी राखेर अवरोध गर्नु गलत भएको बताएका हुन्। उनले राज्यको भूमिका नागरिकको सुरक्षा र चिन्ता समाधान गर्ने हुनुपर्ने उल्लेख गर्दै राज्य आफैंले त्रासको वातावरण सिर्जना गर्न नहुने धारणा राखेका छन्।

“सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ,” झाले लेखेका छन्। उनले राज्यले नागरिकको चिन्ता सम्बोधन गर्नुपर्ने तर आफैं थप आतङ्कित बनाउने काम गर्न नहुने उल्लेख गरेका छन्।

उनले पछिल्लो घटनालाई लिएर सरकार र सम्बन्धित निकायको कार्यशैलीमाथि प्रश्न उठाउँदै यस्तो गतिविधिले राज्य सञ्चालनको स्तरमाथि नै प्रश्न उठाउने बताएका छन्। “यस्तो बचपना देखाएर राजकाज चल्छ?” भन्दै उनले यस्ता गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

झाले युवापुस्ताको आन्दोलन र बलिदानको सन्दर्भ जोड्दै गलत अभ्यास र कमजोर व्यवस्थापनका कारण जनताको अपेक्षामाथि चोट पुग्ने बताएका छन्। “के यस्तै स्तरहीन र गलत प्रयोग गर्न GenZ सहादत भएको हो?” भन्दै उनले घटनाप्रति घोर आपत्ति जनाएका छन्।

यसअघि काठमाडौंका विभिन्न सञ्चार गृह तथा सार्वजनिक महत्वका स्थानहरूमा चालकविहीन अवस्थामा शंकास्पद रूपमा सवारीसाधन पार्क गरिएको घटनाले व्यापक चर्चा पाएको थियो। कान्तिपुर, अनलाइनखबर, हिमालय टेलिभिजनलगायतका सञ्चार संस्थाको गेटमा राखिएका सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो।

घटनापछि राजनीतिक दल, सञ्चार क्षेत्र र नागरिकस्तरबाट समेत निष्पक्ष छानबिन गरी दोषी पहिचान गर्न माग भइरहेको छ। रास्वपाले पनि घटनामा आफ्नो पार्टीका कुनै व्यक्ति संलग्न भए कानुनअनुसार कारबाही गरिने बताउँदै आएको छ।

यस घटनाले सञ्चार संस्था, सार्वजनिक सुरक्षा र राज्यको जिम्मेवारीबारे पुनः बहस सुरु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?