विराटनगर। कोशी प्रदेशको राजधानी तथा देशकै दोस्रो ठूलो सहर विराटनगरस्थित ऐतिहासिक कोशी अस्पतालले अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याएर संरक्षण गर्ने अभियानलाई तीव्र बनाएको छ।
सोही अभियानअन्तर्गत गत सोमबार अस्पताल परिसरभित्र वर्षौंदेखि अवैध रूपमा निर्माण गरिएका भौतिक संरचनाहरूमा डोजर चलाइएपछि अस्पताल प्रशासनले अब खाली भएको जग्गामा तत्काल बलियो पर्खाल निर्माण गरेर घेराबन्दी गर्ने तयारी गरेको छ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. चन्द्रभाल झाले अस्पतालको दीर्घकालीन गुरुयोजना कार्यान्वयन तथा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि ती अवैध संरचनाहरू हटाउनु अनिवार्य रहेको बताउनुभयो। अस्पतालको स्वामित्वमा विराटनगरको मुटुमा पाँच बिघाभन्दा बढी बहुमूल्य जग्गा रहेको छ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा मेसु डा. झाले अतिक्रमण मुक्त गराइएको क्षेत्रमा अब ढिलाइ नगरी पर्खाल लगाएर अस्पतालको जग्गा सुरक्षित गरिने जानकारी दिए।
‘अस्पतालको जग्गा सुरक्षित राख्न हामी तत्काल घेराबन्दी गर्छौं। त्यसपछि गुरुयोजनाअनुसार व्यवस्थित रूपमा भौतिक पूर्वाधार विकासका कामहरू अघि बढाइनेछ,’ उनले भने।
उनका अनुसार अस्पतालको यो बृहत् विस्तार योजना कार्यान्वयनका लागि संघीय स्वास्थ्य मन्त्रालय र सम्बन्धित मन्त्रीको समेत पूर्ण राजनीतिक तथा प्रशासनिक सहयोग रहेको छ।
अस्पतालले भविष्यमा विशेषज्ञ सेवा थप गर्ने, नयाँ आधुनिक भवनहरू निर्माण गर्ने तथा अत्याधुनिक स्वास्थ्य पूर्वाधार विकासका लागि उक्त जग्गा उपयोग गर्ने दीर्घकालीन लक्ष्य लिएको छ।
डोजर चलाएर पहिलो चरणमा अधिकांश व्यावसायिक सटरहरू हटाइए पनि नेपाल क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटीअन्तर्गतको ब्लड बैंक, देवकोटा पुस्तकालय तथा गणेश मन्दिरका मूल संरचनाहरू भने तत्कालका लागि यथावत राखिएको डा. झाले स्पष्ट पारे।
ती संरचनाहरूमध्ये केही अस्पतालको आपतकालीन तथा अत्यावश्यक सेवासँग प्रत्यक्ष जोडिएकाले तत्कालै नभत्काइएको भए पनि अस्पतालको समग्र गुरुयोजना कार्यान्वयनका क्रममा अन्ततः ती संरचनाको आवश्यक व्यवस्थापन तथा स्थानान्तरण गरी अस्पतालको सम्पूर्ण स्वामित्वको जग्गा पूर्ण रूपमा खाली गरिने मेसु डा. झाले प्रतिबद्धता जनाए।






