महानायक विरुद्ध उत्तराधिकारी: मेस्सी र यमालको ऐतिहासिक र संयोगपूर्ण फाइनल

२०८३ श्रावण १, शुक्रबार १५:२८

काठमाडौँ । यो कुनै ऐतिहासिक प्रतिद्वन्द्वीहरू अली-फ्रेजियर, म्याजिक-बर्ड, वा नडाल-फेडरर जस्तो लामो समयसम्म चलिरहने खेल शृङ्खला होइन। बरु, यसको विशिष्टता नै यही हो कि फुटबलका सर्वकालीन महान् खेलाडी ३९ वर्षीय लियोनेल मेस्सी र १९ वर्षीय उदीयमान स्टार लामिने यमाल आगामी जुलाई १९ आइतबारका दिन न्यूजर्सीको मेटलाइफ स्टेडियममा पहिलो र सम्भवतः अन्तिम पटक आमनेसामने हुँदैछन्।

एउटा टिश्यु पेपरमा सम्झौता गरेर बार्सिलोना भित्रिएका मेस्सी र स्पेनको बहुसांस्कृतिक पृष्ठभूमिबाट उदाएका यमाल-दुवैको साझा कडी बार्सिलोनाको प्रसिद्ध एकेडेमी ‘ला मासिया’ हो। यी दुई खेलाडीलाई सन् २००७ मा फोटो पत्रकार जोन मोनफोर्टले खिचेको एउटा ऐतिहासिक तस्बिरले सधैँका लागि भावनात्मक रूपमा जोडिदिएको छ।

‘स्पोर्ट’ दैनिक, बार्सिलोना फाउन्डेसन र युनिसेफको कल्याणकारी क्यालेन्डरका लागि खिचिएको उक्त तस्बिरमा करिब २ दशकअघि बालक रहेका यमाललाई मेस्सीले टबमा नुहाइरहेको देखिन्छ। यो केवल एक तस्बिर मात्र नभई इतिहासकै सर्वोत्कृष्ट खेलाडीको हातबाट एक भावी महान् खेलाडीको दीक्षा जस्तै बनेको छ, जुन आज विश्व फुटबल इतिहासकै सबैभन्दा दुलर्भ संयोग सावित भएको छ।

लियोनेल मेस्सी: कीर्तिमान र उपाधिको भोक

सन् २००९ मा बार्सिलोनाले ऐतिहासिक छैटौँ उपाधि जित्दा बनाएको नारा ‘टोदो गनादो, टोदो पोर गनार’ (सबै जितियो, धेरै जित्न बाँकी छ) भनेझैँ मेस्सीले आफ्नो खेल जीवनलाई उपाधिको अथाह भोकमा परिणत गरेका छन्। आठ पटकका बालोन डी’ओर विजेता मेस्सीले बार्सिलोनाका लागि ७७८ खेलमा ६७२ गोल गर्दै ४ च्याम्पियन्स लिग, १० ला लिगा र ७ कोपा डेल रेसहित असङ्ख्य उपाधि जितेका छन्।

अर्जेन्टिनाका लागि लामो समयको कठिन सङ्घर्ष र सन् २०१६ को सन्यास घोषणाको उतारचढावपछि, उनले कतार विश्वकपमा टोलीलाई च्याम्पियन बनाएर आफ्नो देशमा ‘भगवान्’ को दर्जा पाए। राष्ट्रिय टोलीका लागि २०६ खेलमा १२५ गोल गरिसकेका मेस्सी विश्वकप इतिहासकै सबैभन्दा बढी गोल (२१) र असिस्ट (१२) गर्ने खेलाडी हुन्।

अमेरिकी लिग एमएलएसको इन्टर मियामीमा पुगेपछि धेरैले उनको खेल जीवनको अन्त्य सोचेका थिए, तर उनले यो विश्वकपमा फेरि एकपटक जादुमयी प्रदर्शन गर्दै आफ्नो खेल जीवनको अन्तिम ठूलो उपाधि चुम्ने तयारी गरेका छन्।

लामिने यमाल: उदय र कीर्तिमानको संघार

मेस्सीको विशाल कीर्तिमानको अगाडि युवा स्टार लामिने यमालले अहिलेसम्म बार्सिलोनाका लागि ३ ला लिगा र १ कोपा डेल रे जितेका छन् भने स्पेनका लागि यूरो कपको उपाधि चुमिसकेका छन्। यदि यस पटक स्पेन विश्वविजेता बनेमा यमाल फुटबल इतिहासमै विश्वकप जित्ने चौथो सबैभन्दा युवा खेलाडी बन्नेछन्।

उनीभन्दा अगाडि केवल पेले, रोनाल्डो (सन् १९९४ मा बेन्चमै सीमित) र ज्युसेप्पे बर्गोमी (१९८२) मात्र रहेका छन्। न्यूयोर्कको यही भूमिमा ब्राजिलियन लिजेन्ड पेलेले ‘कसमस’ क्लबबाट खेलेर तहल्का मच्चाएका थिए, आज यमाल पनि तिनै पेलेको पाइला पछ्याउँदै विश्वकै सबैभन्दा प्रभावशाली युवा खेलाडीका रूपमा फाइनल खेल्दैछन्।

पुस्तान्तरण र जर्सी नम्बरको रोचक संयोग

यी दुई खेलाडीबीचको पुस्तान्तरण र समयको अन्तर निकै रोचक छ । सन् २००५ को यू-२० विश्वकपमा जब मेस्सीले स्पेनिस टोलीलाई ध्वस्त पारेका थिए, त्यसको दुई वर्षपछि मात्र यमालको जन्म भएको थियो।

सन् २०२२ मा जब अर्जेन्टिनाले फ्रान्सविरुद्ध कतारमा ऐतिहासिक फाइनल खेलिरहेको थियो, यामाल बार्सिलोनाको एकेडेमी (जुभेनिल ए) का लागि स्थानीय खेल खेल्दै थिए र उनले त्यो ऐतिहासिक फाइनल हेर्नसमेत पाएका थिएनन्।

जर्सी नम्बरको हकमा मेस्सीले बार्सिलोना र अर्जेन्टिनाको सुरुवाती दिनहरूमा ‘१९’ नम्बरको जर्सी लगाएका थिए। यामालले पनि बार्सिलोनाको सिनियर टोली र स्पेनिस टोलीमा डेब्यु गर्दा ‘१९’ नम्बर नै रोजेका थिए। हालै १८ वर्ष पुगेपछि उनलाई बार्सिलोनाले मेस्सीको ऐतिहासिक ‘१०’ नम्बरको जर्सी दिएको छ।

यमालले बार्सिलोनामा मेस्सीले लगाएकै १० नम्बर जर्सी पाउनुलाई उनीमाथि मेस्सीको विरासत अगाडि बढाउने जिम्मेवारी थपिएको विश्लेषण गरिएको छ । बार्सिलोनाको १० नम्बर जर्सीको ठूलो महत्व छ । यो जर्सी मेस्सीअघि मेस्सीकै अग्रज महान फुटबलर म्याराडोनादेखि रोनाल्डिन्हो, रिभाल्डो, रोमारियो जस्ता लिजेन्डहरूले लगाएका थिए ।

न्यूयोर्कको ब्रोडवे थिएटरका उत्कृष्ट लेखकहरूले पनि सन् २०२६ को यो समर (गर्मी याम) का लागि यस्तो अभूतपूर्व र काल्पनिक जस्तो लाग्ने ‘महानायक र उत्तराधिकारी’ बीचको पटकथा तयार पार्न सक्ने थिएनन्, जुन अब मेटलाइफ स्टेडियमको मैदानमा यथार्थमा परिणत हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?