सप्तकोशीमा जलप्रवाह बढेसँगै रातो बत्ती बल्यो: ब्यारेजका २० ढोका खुला, प्रशासन उच्च सतर्कतामा

२०८३ श्रावण १, शुक्रबार १५:३०

सुनसरी। मनसुन सक्रिय भएसँगै सप्तकोशी नदीमा पानीको बहाव लगातार बढ्न थालेपछि सुनसरी जिल्ला प्रशासनले विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ।

नदीमा पानीको सतह बढेर सम्भावित जोखिम निम्तिन सक्ने अवस्थालाई ध्यानमा राख्दै प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूको टोलीले कोशी ब्यारेजको स्थलगत अनुगमन गरी वस्तुस्थिति बुझेको छ।

पछिल्लो मापन अनुसार कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ५१ हजार १९५ क्युसेक पुगेको छ, जसका कारण सुरक्षाका लागि ब्यारेजका २० वटा ढोकाहरू खोलिएका छन्।

सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेक नाघ्ने बित्तिकै सम्भावित खतराको संकेतस्वरूप ब्यारेजमा रातो बत्ती बाल्ने गरिन्छ। हाल बहावले सो सीमा पार गरिसकेकाले प्रशासनले उच्च सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ।

अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले बाढी, डुबान तथा कटानको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लामा ‘विपद् प्रतिकार्य योजना’ पूर्ण रूपमा सक्रिय पारिएको बताए।

उनका अनुसार विपद् व्यवस्थापनमा संलग्न हुने सबै सरकारी तथा गैरसरकारी निकायहरूको जिम्मेवारी स्पष्ट रूपमा बाँडफाँट गरिएको छ भने आकस्मिक उद्धारका लागि आवश्यक कार्यविधि समेत तयार पारिएको छ। वर्षायाममा आइपर्न सक्ने प्राकृतिक प्रकोपलाई सामना गर्न, प्रभावितहरूको सुरक्षित उद्धार, राहत वितरण, स्थानान्तरण र आवश्यक परे पुनःस्थापनाका लागि जिल्ला प्रशासन र सुरक्षा निकायहरू तयारी अवस्थामा तैनाथ छन्।

कमजोर तटबन्ध र कोशी ब्यारेज पुलको आवश्यक मर्मतसम्भार बेलैमा गरिसकिएको जानकारी दिँदै प्रजिअ घिमिरेले ठूलो बाढीका कारण कुनै पनि स्थानमा कटान वा तटबन्धमा क्षति पुगेमा सम्बन्धित आयोजना, जिल्ला प्रशासन र सुरक्षा टोली तत्कालै परिचालन हुने गरी विशेष संयन्त्र बनाइएको प्रष्ट पारे।

उक्त अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख केशवकुमार थेबे र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सुनसरीका उपअनुसन्धान निर्देशक विमल घिमिरे लगायत विभिन्न सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?