काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार शासकीय अराजकतामा फसेको र पूर्ण रूपमा बरालिएको आरोप लगाएका छन्।
आइतबार केन्द्रीय कार्यालय सानेपामा सुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकारका गलत कदमलाई नियन्त्रणमा ल्याउने र सही बाटोमा हिँडाउने जिम्मेवारी प्रमुख प्रतिपक्षीका रूपमा कांग्रेसको रहेको स्पष्ट पारेका हुन्।
प्रधानमन्त्री बालेन शाहले केही समयअघि आफूले चलाएको ‘गाडीमा ब्रेक नभएको’ भनी दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै थापाले कडा चेतावनी दिएका छन्। “प्रधानमन्त्रीले मेरो गाडीमा ब्रेक छैन भन्नुभयो। स्पीडमा हिँड्ने उहाँको छनोटमा हाम्रो केही भन्नु छैन। स्पीड बढाउन सक्नुहुन्छ, ब्रेक नलगाउन सक्नुहुन्छ, तर संविधान र विधिको लेन मिच्न दिँदैनौँ,” थापाले भने। उनले सरकार बरालिएकाले त्यसलाई ठीक ठाउँमा ल्याउने काम कांग्रेसले गर्ने दाबीसमेत गरे।
आफ्नो सम्बोधनका क्रममा सभापति थापाले आम नागरिकसँगको संवादका आधारमा देशमा तीन थरी धारणा वा मनोविज्ञान देखिएको उल्लेख गरे। “केही नागरिकमा अनिश्चितता छ। केही नागरिकसँग कुरा गर्दा हिजो पनि राम्रो भएन, आज पनि भएको छैन र भोलि पनि हुन्न भन्दै हतास भएको पाउँछु। अनि केही नागरिकमा तीव्र आक्रोश छ,” थापाले भने।
नागरिकमा छाएको यही आक्रोश र छटपटीका कारण दुई दिनअघि प्रधानमन्त्री बालेन शाहले ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्दै मध्यराति स्टाटस लेख्ने स्थिति बनेको र रास्वपा सभापति रवि लामिछानेले शनिबार ‘जहाज हल्लिँदैमा नआत्तिन’ भन्दै स्पष्टीकरण दिनुपर्ने अवस्था आएको थापाको विश्लेषण छ। तर, नागरिकमा रहेको यो आक्रोशबाट प्रतिपक्षी कांग्रेस खुसी नभई थप चिन्तित बन्नुपर्ने उनले बताए।
अतीतका घटनाक्रम स्मरण गराउँदै थापाले विगतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि नागरिकको असन्तोषबारे संसद् र पार्टी बैठकमै सचेत गराएको प्रसङ्ग उल्लेख गरे।
“त्यतिबेला जनताको बारेमा कसैले जिम्मेवारी लिनु पर्दैन र तिमीहरूले भनेर हुँदैन, हामी जितेर आएका हौँ भनियो,” उनले भने। नागरिकका असन्तोष र आन्दोलनहरू एकाएक नआउने भन्दै जनताको आक्रोशको एकमुष्ट अभिव्यक्ति चुनावको म्यान्डेटमा पोखिने गरेको उदाहरण उनले पेस गरे।
संसद् र राजनीतिमा प्रतिपक्षको भूमिकालाई बिर्सिएर सरकार निरङ्कुश वा पपुलिस्ट बन्न खोजे नागरिक स्तरबाटै ठूलो प्रतिरोध हुनसक्ने तर्फ सचेत गराउँदै थापाले प्रतिनिधिसभा निर्वाचनपछि प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा कांग्रेस जिम्मेवार र सही बाटोमा अघि बढिरहेको दाबी गरे।






