रघुनाथपुर मन्दिर ह*त्या का’ण्डमा दुई पक्राउ, आरोपीको नाम तत्काल सार्वजनिक नगरिने

२०८३ श्रावण २४, आईतवार २३:५८

जनकपुरधाम : धनुषा, सबैला नगरपालिका–१२ रघुनाथपुरस्थित हनुमान मन्दिरमा पूजाआजा गर्दै आएका व्यक्तिको हत्या प्रकरणमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ।
गत साउन १५ गते बिहान मन्दिरमा बसोबास गर्दै आएका धनुषा हँसपुरका बन्ठु राउत माथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो।

घटनालगत्तै पुगेको धनुषा प्रहरीको डग टोली सबैला नगरपालिका अन्तर्गत बरकुरवा क्षेत्रतर्फ गएको बताइएको छ। त्यसकै आधारमा प्रहरीले हत्या भएकै दिन एक जनालाई पक्राउ गरेको थियो। पछि बयानका आधारमा अर्का एक जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटना भएको समय हिन्दु–मुस्लिम विवाद र तनावको अवस्था चलिरहेको भन्दै उक्त हत्याले स्थानीय वातावरण थप संवेदनशील बनेको थियो। यद्यपि धनुषा प्रहरीले तत्कालै स्थिति साम्य पार्न सफल भएको जनाएको छ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको नाम अनुसन्धानका कारण सार्वजनिक गर्न नमिल्ने बताएको छ। यस सम्बन्धमा अनुसन्धान अझै जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?