चन्दन रजक सुनसरीको दुहबी–६ स्थित राधाकृष्ण मन्दिरमा यस वर्ष पनि श्रीकृष्ण जन्माष्टमी तथा रथयात्रा महोत्सव आयोजना हुने भएको छ। महोत्सवलाई व्यवस्थित र सुरक्षित बनाउन रथयात्राको निगरानी ड्रोन क्यामेरामार्फत गरिने आयोजकले जनाएको छ।
राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको आयोजनामा हुने महोत्सवबारे समितिका अध्यक्ष रमेशकुमार रौनियारले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन्।
अध्यक्ष रौनियारका अनुसार महोत्सवमा करिब ५० हजार श्रद्धालु भक्तजन सहभागी हुने अनुमान गरिएको छ। महोत्सवलाई भव्य, सभ्य तथा व्यवस्थित बनाउन आवश्यक तयारी अघि बढाइएको उनले बताए।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको महोत्सवमा दुहबीसहित सुनसरी, मोरङ तथा आसपासका विभिन्न क्षेत्रबाट ठूलो संख्यामा श्रद्धालु आउने अपेक्षा गरिएको छ।
दुहबी नगरपालिका–६ का वडाध्यक्ष घनश्याम हलुवाईले महोत्सवमा सहभागी हुने भक्तजनको सहज आवागमन, सुरक्षा तथा आवश्यक व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने बताए।
महोत्सवका अवसरमा श्रीकृष्ण जन्माष्टमी बालगोपाल प्रतियोगिता, भजन–कीर्तन, प्रसाद वितरण तथा मोटरसाइकल र्यालीलगायतका कार्यक्रम आयोजना गरिने मेला उपसमितिका संयोजक चन्दन बैठाले जानकारी दिए।
आयोजकका अनुसार ठूलो संख्यामा भक्तजन सहभागी हुने भएकाले रथयात्रालाई व्यवस्थित बनाउन सुरक्षा तथा भीड व्यवस्थापनमा विशेष ध्यान दिइनेछ। रथयात्राको गतिविधि तथा भीडको अवस्थाबारे निगरानी गर्न ड्रोन क्यामेरा प्रयोग गरिने तयारी गरिएको छ।






