जनकपुरधाम -जनकपुरधाम उपमहानगरपालिका–१४, मुजेलियाका रामकिशोर यादवका एक्ला छोरा २५ वर्षीय महेश यादवलाई मंगलबार राति करिब साढे १२ बजे विषालु सर्पले टोकेको थियो।
सर्पले टोकेलगत्तै महेश आफैं उपचारका लागि जनकपुरस्थित मधेश प्रादेशिक अस्पताल पुगे। अस्पतालमा उपचार सुरु भयो। तर केही समयमै उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गयो।
राति करिब २ बजे चिकित्सकले महेशलाई तत्काल आईसीयू वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बताए। तर आईसीयू र भेन्टिलेटर खाली नभएको भन्दै उनलाई थप उपचारका लागि बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रमा रेफर गरिएको परिवारको भनाइ छ। बर्दिबास पुर्याएपछि चिकित्सकले महेशलाई मृत घोषणा गरे।
सर्पले टोकेपछि उपचारको आशामा अस्पताल पुगेका एक युवाको आईसीयू र भेन्टिलेटर अभावका कारण ज्यान गएको परिवारको आरोपले अस्पतालको उपचार व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ।
एक्लो छोरा गुमाएका परिवारको पीडा झन् गहिरो बनेको छ। आवश्यक उपचारका लागि प्रदेशकै प्रमुख अस्पताल पुगेका बिरामीले उपचारकै अभावमा ज्यान गुमाउनुपर्ने अवस्था कहिलेसम्म?
परिवारको आरोप र अस्पतालको वास्तविक अवस्था तथा घटनाबारे सम्बन्धित निकायको स्पष्ट जवाफ आवश्यक देखिन्छ।






