जनकपुरधाम,(कुमार पंकज )/
मिथिलाञ्चलको विशिष्ट पर्व होली जनकपुरधाम सहित मिथिलाञ्चलमा आज धुमधामका साथ मनाइदै छ । विहानैदेखी जनकपुरधामको विभिन्न स्थानमा युवायुवतीहरु एक अर्कालाई रंग अबीर दली होली पर्व मनाइ रहेका छन ।
होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । नेपालमै जनकपुरधाममा एक विशेष प्रकारले होली मनाउने गरिन्छ । जनकपुरको होली हेर्न ठूलो संख्यामा विदशी पर्यटकहरु जनकपुर आएका छन् ।
१५ दिने मध्यमा परिक्रमाको समापन भएको एकदिनपछि जनकपुरमा होली मनाईने गरिन्छ । जनकपुरको चोक चोकमा जोगिरा गायनका साथै मटकाफोर कार्यक्रमहरु भइरहेको छ ।
त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी थिइन र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ ।
अर्को एक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ । होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो ।
इतिहासकारहरू मान्छन् कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो। यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरू र ग्रन्थहरूमापनि यस पर्वको उल्लेख छ । भारतमा पर्ने विध्यक्षेत्रको रामगढ भन्ने स्थानमा ईसा भन्दा ३०० वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको विषयमा उल्लेख गरिएको पाइन्छ ।
ज्नकपुरधाममा त्रेता युगमा भगवान राम र सीताले होली खेलेको मान्यता रहेको छ । मिथिलाका अधिकांश गीतहरुमा रामसीतासँग जोडिएको प्रसंगहरु रहेको छ । २३ गते तराईका अन्य जिल्लामा होली भएको छ भने जनकपुरधाम सहित मिथिलाञ्चलमा आज मनाइदै छ ।






