जनकपुरधाम,(कुमार पंकज)/अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी आज साँझ जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा चैते छठ मनाइँदैछ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व तराईका धनुषा, महोत्तरी ,सिरहा, सप्तरी, सुनसरी, मोरङ्ग, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ मनाइँदैछ ।
छठ पर्व धनुषाको जनकपुर, महोत्तरीको मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी,र सर्लाहीको मलङ्वा,संग्रामपुर लगायत अन्य शहरी एवम् ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा जनकपुरधाका प्रसिद्ध तलाउ गंगासागर, धनुसागर,अर्गजा पोखरी , दसरथ तलाउको किनारमा अघ्र्य दिनका लागि भक्तजनको तयारी भइरहेको छ ।
सत्य तथा अहिंसाप्रति मानवको रुचि बढाउन र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको ब्रतालुहरुले बताउ छ्न ।सूर्यको उपासना गरिने पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।
यस अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन व्रतीले ‘नहा खा’ अर्थात् नुहाएर खाने गर्दछ वा जीउ चोख्याउने काम गर्दछन् । त्यस्तै पर्वको दोस्रो दिन खर्ना मनाइएको थियो ।
खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरेका थिए र राति अरवा अरबाइन (विना नुन हालेको) खानेकुरा खाएका थिए ।
त्यस्तै तेस्रो दिन आज साँझ गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलिया खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मूला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।
षष्ठीका दिन आज व्रतीले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अघ्र्य अर्पण गर्नेछन् ।
अन्तिम दिन भोलि एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याइ प्रातः कालीन उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व सम्पन्न गर्नेछन् ।






