मिथिलाञ्चलमा नवविवाहित महिलाहरुले वट सावित्री(बरसाइत) पर्व मनाउँदै

२०८० जेष्ठ ५, शुक्रबार ०३:१०

जनकपुरधाम(कुमार पंकज)। जनकपुरसहित समस्त मिथिलाञ्चलमा आज महिलाहरु हर्षोल्लाषका साथ वट सावित्री (बरसाइत) पर्व मनाउँदैछन्। मिथिलाञ्चलका नवविवाहिता महिलाहरुले पतिको दीर्घायु तथा कुशल दाम्पतीय जीवनको कामना गर्दै विशेष रुपले वट सावित्री (बरसाइत) पर्व मनाउने गर्दछन्। सौभाग्य समृद्धि प्राप्तिका लागि यस व्रतमा वरको रूखको पूजा आजा गर्ने चलन छ ।

वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा अग्रभागमा शिवको बास हुन्छ र सावित्री पनि सोही रूखमै प्रतिष्ठापित भएको जनविश्वासअनुसार यस व्रतको शुरुआत भएको हो । त्यसैले यसलाई वट–सावित्री पूजा(बरसाइत)भन्ने गरिएको छ । मैथिली भाषामा वटलाई वर भनिन्छ । अर्कोतिर पतिलाई पनि वर भन्ने गरिएको छ । वटवृक्ष दीर्घायू वृक्ष हुने भएकाले यसको पूजा गर्ने मान्यता रहेको बताइन्छ ।

यो व्रत नवविवाहिताले विवाह भएपछिको पहिलो पटक विशेष विधिविधानका साथ गर्ने गर्दछिन् भने दोस्रो पटकदेखि सधवा रहञ्जेलसम्म साधारण प्रकारले गर्ने गर्दछिन् । यसमा वटवृक्षसम्म जाने सुविधा नभएको खण्डमा वटवृक्षको हाँगा टिपेर आँगनमा रोपेर पनि व्रत सम्पन्न गरिन्छ ।

पौराणिक कथाअनुसार सावित्रीले सोही रूखमुनि आराधना गरी मृत पति सत्यवानलाई जीवित तुल्याएकी थिइन् ।यसमा वरको रूखमुनि गौरी, भगवती र विसहराको कथा पूजा सकिएपछि व्रत बस्ने महिलाले वरको पात कपालमा सिउरेर अटल सौभाग्यको वरदान माग्दछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?