बागलुङमा भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा एक जनाको मृत्यु

२०८० मंसिर १, शुक्रबार ०६:३५

बागलुङमा भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा एक जनाको मृत्यु भएको छ। बिजुलीको करेन्ट लागेर निसीखोला गाउँपालिका– ३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको आज मित्यु भएको हो।

उनको घटनास्थलमै मृत्यु भएको हो।

गाउँबाट ढुवाखोर बजार तर्फ जाने क्रममा निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको भुइँमा लत्रिएको तार कुल्चिँदा भाजवीरलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्ष मदन केसीले जानकारी दिए।

स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली घटनास्थलमा पुगेको छ।

विद्युत् आयोजनाको लापरबाहीका कारण नेपालीको मृत्यु भएको स्थानीयको आरोप छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?