जनकपुरधाम, ४ माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले सशस्त्र प्रहरी बल (एपीएफ) माथि ५ विकेटको शानदार जित निकालेको छ ।
सुरुमा ब्याटिँग गरेको एपिएफ क्लबले मधेश प्रदेशलाई २४७ रनको लक्ष्य दिएकोमा मधेश प्रदेशले मात्र ५ विकेटको क्षतिमा २४७ रन बनाएर जीत हाँसिल गरेको हो ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले ९ विकेट गुमाउँदै २४६ रन बनाएको थियो । एपीएफका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५९ रन बनाए । उनले ६९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।
कप्तान रोहित पौडेलले ७४ बलमा ५ चौका र २ छक्कासहित ५८ रन बनाए । नट आउट रहेका अमर रौतेला अर्धशतक पूरा गर्नबाट १ रनले चुके । सन्दीप जोराले २० रन बनाएका थिए ।
४८.३ ओभरमा हातमा बलले लागेर रिटायर्ड हर्ट अभिनाश बोहरा लगातार २ विकेट गएपछि पुन मैदान फर्किएका थिए । उनी ८ रनमा नट आउट रहे । मधेशका लागि रुपेश सिंह र प्रदिप पासवानले समान ३–३ विकेट लिए । रञ्जित कुमारले २ र अरनिको यादवले १ विकेट लिए ।
२४६ रनको लक्ष्य पछयाउँदै मधेश प्रदेशबाट रुपेश सिँहले ७२ बलमा ७२ रन बनाए भने निरज यादवले ७० बलमा ५२ रन जोडे । निरजले २ छक्का र ४ चौका समेत प्रहार गरेका थिए । जितसंगै मधेश तालिकाको सातौं स्थानमा उम्किएको छ ।






