देशभरिमा छ महिनामा सवारी दुर्घटनामा  एक हजार एक सय ३७ को मृत्यु, मधेसमा तीन हजारभन्दा बढी दुर्घटना

२०८० माघ १९, शुक्रबार ०७:०१

काठमाडौँ, माघ १९ गते । चालु आर्थिक वर्षको छ महिनामा देशभर भएका सवारी दुर्घटनामा एक हजार एक सय ३७ जनाले ज्यान गुमाएका छन् ।

चालु आवको साउनदेखि पुस मसान्तसम्म देशभरका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा एक हजार एक सय ३७ ले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा पुरुष आठ सय ५४, महिला दुई सय नौ, बालक ५० र बालिका २४ रहेका प्रहरी केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा १६ हजार तीन सय ३५ जना घाइते भएका छन् ।

तीन हजार दुई सय १३ गम्भीर र १३ हजार एक सय २२ जना सामान्य घाइते भएका ढकालले बताए । प्रवक्ता ढकालका अनुसार सो अवधिमा देशभर १२ हजार आठ सय ५६ वटा सवारी दुर्घटना भएका छन् ।

काठमाडौँ उपत्यकामा पाँच हजार आठ सय ६५, कोशी प्रदेशमा एक हजार छ सय ३९, मधेसमा तीन हजार एक सय ९०, बागमतीमा सात सय छ, गण्डकीमा एक सय ९५, लुम्बिनीमा छ सय छ, कर्णालीमा चार सय ९५ र सुदूरपश्चिम प्रदेशमा एक सय ६० सवारी दुर्घटना भएका छन् ।

दुर्घटनामा १० हजार तीन सय ५३ वटा सवारी साधनमा क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीको तथ्याङ्क हेर्दा सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल रहेको छ ।

तीव्र गति, यात्रुले बाटो काट्दा, मापसे र लापसे, ट्राफिक नियम उल्लङ्घन, सवारी चालक अनुमतिपत्र प्राप्त नहुनु, ओभरटेक, ओभरलोड, ब्रेक फेल, मोबाइल फोनको प्रयोग, यान्त्रिक गडबडी, झुण्डिएर यात्रा गर्नु, जीर्ण तथा कच्ची सडक, उकालो ओरालो, हुस्सुकुहिरो, बाढीपहिरो र चौपायलगायत कारणले दुर्घटना हुने गरेको प्रवक्ता ढकालको भनाइ थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?