आगलागीमा परि आमा र १५ वर्षीय छोराको निधन 

२०८१ बैशाख २५, मंगलवार ०२:२६

२५ वैशाख,ओखलढुङ्गा । आगोले जलेर सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आमा-छोराको मृत्यु भएको छ ।

सोमबार हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया धमला र उनका छोरा १५ वर्षीय कञ्चन धमलाको घटनास्थलमै ज्यान गएको हो ।

बाहुनडाँडा कोल पाखामा निजी खरपाखामा राखिएको खर घाँस जोगाउने क्रममा सुरुमा आमा आगोमा परेको र आमालाई जोगाउन जाँदा छोराको समेत जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिष्टार सिंहले बताए ।

घटनास्थलमा प्रहरी परिचालन गरिएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केही दिनअघि देखि स्थानीय जङ्गलमा डढेलो लागेको थियो ।

अहिले जिल्लाका विभिन्न स्थानमा डढेलो लागिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?