आईपिओ को नाममा कालाबजारी !

२०८१ भाद्र १५, शनिबार २०:१२

काठमान्डौ १५,२०८१ शनिवार

फर्जी कागजात बनाएर कम्पनी अधिक नाफामा गएको देखाउने,  कम्पनी हरितन्नम भएपछि आईपीओको बहानामा सर्वसाधारणको खल्ती रित्याउनु केही व्यापारिक समूहको अहिले धन्दा जस्तो बनेको छ । आईपीओ भनेपछि आँखा चिम्लिएर हुरुक्क हुँदै हाम फाल्ने सर्वसाधारण व्यापारी नामका यस्ता शिकारीको पासोमा पर्दा लागनी नै डुब्ने अवस्था छ ।

त्यहीमध्येका केही यस्ता कम्पनी छन्, जसले टाट पल्टिनै लाग्दा आईपीओ खोलेर अहिले घाटाको प्रमाण पेश गरेका छन् ।

सर्वोत्तम सिमेन्ट

यो कम्पनीको  रेटिङमा सेटिङ मिलाएर आईपीओ जारी गरेका यस्ता कम्पनीको आर्थिक हैसियत सकारात्मक हुन्छ भनेर कल्पना गर्नु नै बेकार बन्न थालेको छ । यस्ता कम्पनीका मालिकले उखुको रस चुसेर खोस्टा भएपछि नै कम्पनीको नाममा आईपीओ जारी गर्ने उठौती धन्दा चलाउँदै आएका छन्।

सर्वोत्तमले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि बुझाएको विवरण अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ७७ करोड ७६ लाख, २०७७/७८ मा एक अर्ब ३१ करोड तीन लाख, २०७८/७९ मा ४६ करोड ७६ लाख रुपैयाँ र २०७९/८० मा २१ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको देखाएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा ८२ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गर्ने प्रक्षेपण गरेपनि यो आर्थिक वर्षमा भने कम्पनीले १७ करोड ४२ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको देखाएको छ । यसले पूर्ण रुपमा घाटा नदेखाए पनि लगातार रुपमा नाफा ओरालो लागेको देखाएको छ । यो संकेतले अन्ततः घोराहीकै बाटो समात्ने लगभग पक्कापक्की छ

घोराही सिमेन्ट

घोराही सिमेन्ट इण्डष्ट्रिजले गत वर्षको जेठ ३२ गते सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको थियो । यो कम्पनीले आईपीओबाट उठाएको रकमले बैंकको ऋण तिरेको छ । त्रिवेणी ग्रुप अन्तर्गतको घोराही सिमेन्ट संघाई घरानाको हो । रामचन्द्र संघाई अध्यक्ष रहेको घोराही सिमेन्टमा गोविन्दलाल संघाई, वीरेन्द्र संघाई र सुभासचन्द्र संघाई लगायतको लगानी छ । भारतीय मुलकका मारवाडी व्यापारीको डिजाईन नै आईपीओको नाममा नेपाली ठग्ने धन्दाको जबरजस्त जालोको रुपमा विस्तार हुँदै गरेको तथ्यमा यसले पनि बल पुर्‍याएको छ।

घोराहीले आईपीओ निष्कासन गर्नुभन्दा पहिले धितोपत्र बोर्डलाई कम्पनी उच्च नाफा रहेको विवरण बुझाएको थियो । तर अहिले कम्पनी घाटामा देखाएको छ ।

यो कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा ३ अर्ब ४५ करोड ४१ लाख, २०७७/०७८ मा ३ अर्ब ७७ करोड ४० लाख र, २०७८/०७९ मा ४ अर्ब दुई करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको विवरण धितोपत्र बोर्डमा बुझाएको थियो । यो आईपीओ निष्कासन गर्न कम्पनीले बुझाएको विवरण हो । त्यसपछि आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब ३ करोड ८७ लाख रुपैयाँ र आर्थिक वर्ष २०८०/०८१ मा ७ अर्ब ७८ करोड १७ लाख रुपैयाँ नाफा गर्ने प्रक्षेपणसहितको विवरण बुझाएको थियो । तर, आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म यो कम्पनी एक अर्ब २१ करोड ८८ लाख रुपैयाँ नोक्सानीमा देखिएको छ । आईपीओ निष्कासन गर्नुभन्दा पहिलेका वर्षहरुमा लगातार नाफा गर्ने कम्पनी आईपीओको ‘आईडीया सक्सेस’ भएपछि कसरी घाटामा गयो ?

यी तथ्यले घोराहीको नियतमा बदनियत थियो भन्ने घाम जत्तिकै छर्लङ छ । कम्पनीको प्रतिशेयर आम्दानी हाल २६ रुपैयाँ ६८ पैसा नोक्सानीमा छ । जबकी आईपीओ खोल्दा नै यो कम्पनी चरम विवादमा परेको थियो ।

सोना सिमेन्ट

सोना सिमेन्ट, सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको उत्पादन हो । यो कम्पनीले २०८० असोज १४ गतेबाट सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको थियो । दाङमा कारखाना रहेको यसको धन्दा पनि घोराहीकै जस्तो छ । यो कम्पनीले पनि आईपीओ निष्कासन गर्नुभन्दा पहिलेका वर्षहरुमा नाफा देखाएर आईपीओ निष्कासन पछिका वर्षमा नोक्सानी ब्यहोराको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा १९ करोड ९ लाख रुपैयाँ नाफा गरेको सोनापुरले आर्थिक वर्ष २०७७/०७८ मा २९ करोड ७७ लाख र आर्थिक वर्ष २०७८/०७९ मा ११ करोड ९४ लाख रुपैयाँसम्म नाफा आर्जन गरेको विवरण धितोपत्र बोर्डमा विवरण बुझाएको थियो ।

आर्थिक वर्ष २०७९/०८० मा पनि कम्पनीले १४ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको विवरण छ । तर, आईपीओ निष्कासन गर्ने बित्तिकै यो कम्पनीको नाफा आर्थिक वर्ष २०८०/०८१ मा भने ऋणात्मक छ । कम्पनीले असार मसान्तसम्म ४६ करोड रुपैयाँ नोक्सानी ब्यहोरेको उल्लेख गरेको छ ।

सर्वसाधारणले वित्तिय विवरण नबुझी आईपीओको नाममा पैसा खन्याउँदा यस्ता जोखिम भएका कम्पनी प्रतिको लगानी डुब्ने देखिन्छ ।

 

कागजी घोडा मिलाएर नाफा देखाई आईपीओको धन्दा चलाएका यी कम्पनीको अवस्था भित्रभित्रै नाजुक हुँदा बाहिर भने अहिले पनि स्यालहुँईया पिटेर लगानीकर्तालाई शेयर खरिद गर्न उत्प्रेरित गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?