सर्लाही,१८ मंसिर । सर्लाहीको बलरा नगरपालिकामा आजबाट दुईदिने जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेला सुरु भएको छ। बलरा नगरपालिका र युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय, सिंहदरबार, काठमाडौंको सहकार्यमा आयोजित यो मेला मंसिर १८ र १९ गते सञ्चालन हुने छ।
मेलाको उद्देश्य विद्यार्थीहरूमा रचनात्मकता, वैज्ञानिक सोच, र नवीनतम आविष्कारको विकास तथा विस्तार गर्नु रहेको आयोजकले जनाएको छ। यसका लागि जिल्लाभरका विद्यालयहरूबाट सहभागिता सुनिश्चित गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले १४ स्थानीय तहका ३७ विद्यालयलाई मेलामा स्टल राख्नका लागि छनोट गरेको छ।
मेलामा विद्यार्थीहरूले विज्ञान र आविष्कारका विभिन्न परियोजनाहरू प्रस्तुत गर्नेछन्। उत्कृष्ट प्रदर्शनी प्रस्तुत गर्ने विद्यालयहरूलाई विशेष पुरस्कार प्रदान गरिने पनि आयोजकले जानकारी दिएको छ।
मेलाले विद्यार्थीहरूमा सिर्जनशील सोचलाई प्रोत्साहन गर्दै स्थानीयस्तरमा विज्ञानको महत्वलाई उजागर गर्ने अपेक्षा गरिएको छ।






