ADVERTISEMENT

राजर्षि जनक विश्वविद्यालय दशौँ वर्षमा प्रवेश, गुणस्तरीय शिक्षा र अनुसन्धानलाई प्राथमिकता दिँदै ११ बुँदे सुधार योजना सार्वजनिक

२०८३ कार्तिक १४, शुक्रबार ११:२३

जनकपुरधाम । राजर्षि जनक विश्वविद्यालयले आफ्नो स्थापनाको नवौँ वर्ष पूरा गरी दशौँ वर्षमा प्रवेश गरेको छ। नवौँ वार्षिकोत्सवका अवसरमा विश्वविद्यालयलाई उत्कृष्टताको केन्द्र (Centre of Excellence), भाषा, संस्कृति तथा दर्शनको केन्द्र (Centre of Language, Culture and Philosophy) र नवप्रवर्तन तथा अनुसन्धानको केन्द्र (Centre of Innovation and Research) का रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

वार्षिकोत्सव समारोहमा सहभागी वक्ताहरूले प्राचीन मिथिलाको ज्ञान, दर्शन, भाषा, कला र सांस्कृतिक परम्परासँग जोडिएको जनकपुरधाममा अवस्थित विश्वविद्यालयले आधुनिक शिक्षा, अनुसन्धान र नवप्रवर्तनका माध्यमबाट यस क्षेत्रको ऐतिहासिक तथा बौद्धिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सक्ने बताएका छन्।

विश्वविद्यालयको स्थापना हुनु मात्रै उपलब्धि नभई यसलाई गुणस्तरीय शिक्षा, प्रभावकारी व्यवस्थापन, अनुसन्धानमुखी वातावरण र विद्यार्थीमैत्री संस्थाका रूपमा स्थापित गर्नु अहिलेको मुख्य आवश्यकता रहेको उनीहरूको जोड थियो।

विश्वविद्यालयको नवौँ वार्षिकोत्सवका अवसरमा रजिस्ट्रार डा. जीवन काफ्लेले विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक सुधारका लागि विभिन्न ११ बुँदे भावी कार्ययोजना सार्वजनिक गर्दै विद्यार्थीको हित, शैक्षिक गुणस्तर र संस्थागत विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

डा. काफ्लेले विश्वविद्यालयको बजेटलाई विद्यार्थीकेन्द्रित बनाउँदै प्रयोगशाला, पुस्तकालय, स्मार्ट बोर्ड, कक्षाकोठा तथा अन्य आधारभूत शैक्षिक सुविधाको सुधारमा लगानी गर्नुपर्ने बताएका छन्। बजेट विनियोजनमा मात्रै सीमित नभई त्यसको प्रत्यक्ष लाभ विद्यार्थीले प्राप्त गर्ने गरी कार्यान्वयन र अनुगमन गर्नुपर्ने उनको भनाइ छ।

त्यस्तै, विश्वविद्यालयका विभिन्न डिन कार्यालयमार्फत अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी अघि बढाइएको छ। सम्मेलनलाई औपचारिक कार्यक्रमका रूपमा मात्र नभई अनुसन्धान, ज्ञान आदानप्रदान, वैज्ञानिक प्रकाशन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग दीर्घकालीन सहकार्य विस्तार गर्ने माध्यमका रूपमा विकास गर्ने योजना अघि सारिएको छ।

मिथिलाको मौलिक भाषा, संस्कृति, दर्शन, कला तथा सभ्यताको संरक्षण र प्रवर्द्धनका लागि राजर्षि जनक विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको संयुक्त आयोजनामा ‘मिथिला सम्पदा संवाद शृङ्खला’ सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरिएको छ। यसले मिथिलाको ऐतिहासिक तथा बौद्धिक सम्पदालाई नयाँ पुस्तासम्म पुर्‍याउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विश्वविद्यालयको संस्थागत क्षमता अभिवृद्धिका लागि प्राध्यापक, कर्मचारी तथा विद्यार्थीलाई लक्षित गरी विभिन्न तालिम तथा कार्यशाला सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ। वित्त तथा लेखासम्बन्धी तीनदिने तालिमसहित वित्तीय व्यवस्थापन, खरिद प्रक्रिया, प्रशासनिक कार्यसम्पादन, अनुसन्धान लेखन, डिजिटल प्रविधि र नेतृत्व विकासलाई प्राथमिकता दिइने जनाइएको छ।

स्वास्थ्य विज्ञान संकायलाई व्यवस्थित बनाउन आवश्यक भौतिक पूर्वाधारसहित उपयुक्त भवनमा स्थानान्तरण गर्ने र सामुदायिक प्रयोगशाला सञ्चालन गर्ने योजना पनि कार्यसूचीमा समेटिएको छ। यसबाट विद्यार्थीको प्रयोगात्मक सिकाइ, अनुसन्धान तथा समुदायमा आधारित स्वास्थ्य गतिविधिलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

परीक्षा प्रणाली सुधार र समयमै नतिजा प्रकाशनमा जोड

विद्यार्थीको शैक्षिक भविष्यसँग प्रत्यक्ष जोडिएको परीक्षा प्रणालीलाई व्यवस्थित र विश्वसनीय बनाउने विषयलाई विश्वविद्यालयले प्राथमिकतामा राखेको छ। परीक्षा समयमै सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षणलाई व्यवस्थित बनाउने तथा नतिजा प्रकाशनमा हुने ढिलाइ अन्त्य गर्ने लक्ष्य सार्वजनिक गरिएको छ।

विश्वविद्यालयका प्रत्यक्ष सञ्चालित शैक्षिक कार्यक्रमहरूको नतिजा परीक्षा सम्पन्न भएको एक महिनाभित्र र सम्बन्धनप्राप्त क्याम्पसमा सञ्चालित कार्यक्रमहरूको नतिजा दुई महिनाभित्र प्रकाशन गर्ने लक्ष्य राखिएको रजिस्ट्रार डा. काफ्लेले बताएका छन्।

यसका साथै विश्वविद्यालयको शैक्षिक पहुँच विस्तार गर्ने उद्देश्यले बारा जिल्लामा आङ्गिक क्याम्पस स्थापना गर्ने योजना अघि बढाइएको छ। आवश्यक भौतिक पूर्वाधार, जनशक्ति, शैक्षिक कार्यक्रम र प्रशासनिक व्यवस्थापन सुनिश्चित गर्दै क्याम्पस सञ्चालनको प्रक्रिया अगाडि बढाइने जनाइएको छ।

विश्वविद्यालयले नयाँ सम्बन्धन विस्तार गर्नुभन्दा पहिले आफ्ना आङ्गिक क्याम्पसलाई सबल र व्यवस्थित बनाउनुपर्नेमा समेत जोड दिएको छ। सम्बन्धनप्राप्त क्याम्पसहरूको नियमित अनुगमन गरी शिक्षकको उपलब्धता, भौतिक पूर्वाधार, विद्यार्थीको सिकाइ, शैक्षिक गुणस्तर र परीक्षा प्रणालीको मूल्याङ्कन गरिने योजना छ। निर्धारित मापदण्ड पूरा नगर्ने र सुधारका लागि दिइएको अवसरसमेत उपयोग नगर्ने संस्थामाथि कानुनअनुसार कारबाही गर्दै आवश्यक अवस्थामा सम्बन्धन खारेजीको प्रक्रियासमेत अघि बढाइने उल्लेख गरिएको छ।

९ बिघा १४ कट्ठा जग्गामा विश्वविद्यालयको दीर्घकालीन पूर्वाधार विकासको योजना

विश्वविद्यालयको आफ्नै भवन र पर्याप्त जग्गा नहुँदा कार्यालय तथा विभिन्न संकाय भाडाका घरमा सञ्चालन गर्नुपर्ने अवस्था रहेको छ। यस समस्याको दीर्घकालीन समाधानका लागि धनुषाको नगराइन नगरपालिका–स्थित फुल्गामामा रहेको ९ बिघा १४ कट्ठा जग्गा श्री केन्द्रीय गुठी संस्थानबाट भाडामा प्राप्त गर्ने सम्बन्धमा सम्झौता भएको रजिस्ट्रार डा. काफ्लेले जानकारी दिएका छन्।

त्यस्तै, जनकपुरधाम उपमहानगरपालिका–४ स्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको जग्गासहितको भवन विश्वविद्यालयलाई प्राप्त गर्ने प्रक्रिया पनि अघि बढिरहेको छ। यी सम्पत्तिको व्यवस्थापन र उपयोगबाट विश्वविद्यालयका कार्यालय, संकाय तथा अन्य शैक्षिक गतिविधिलाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कानुन विषयको पठनपाठनलाई व्यवस्थित बनाउन छुट्टै भवन भाडामा लिएर कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ। कानुन शिक्षाका लागि आवश्यक कक्षाकोठा, पुस्तकालय, नमुना अदालत तथा अन्य शैक्षिक सुविधाको व्यवस्था गर्दै व्यावहारिक र अनुसन्धानमुखी शिक्षालाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

त्यसैगरी, काठमाडौंमा सञ्चालन भइरहेका विश्वविद्यालयका शैक्षिक कार्यक्रमलाई सम्बन्धित आङ्गिक क्याम्पससँग समन्वय गरी थप व्यवस्थित बनाउने तथा आवश्यक अध्ययनपछि कार्यक्रमलाई आङ्गिक क्याम्पसको संरचनाअन्तर्गत सञ्चालन गर्ने प्रक्रिया अघि बढाउने योजना रहेको छ।

विश्वविद्यालयलाई प्रमाणपत्र दिने संस्थामा मात्र सीमित नराख्ने प्रतिबद्धता

रजिस्ट्रार डा. काफ्लेले विश्वविद्यालयको विकासका लागि पदाधिकारीको प्रतिबद्धता मात्रै पर्याप्त नहुने भन्दै डिन कार्यालय, विभाग, आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पस, प्राध्यापक, कर्मचारी, विद्यार्थी र सम्पूर्ण सरोकारवालाको सक्रिय सहकार्य आवश्यक रहेको बताएका छन्।

विश्वविद्यालयमा पारदर्शिता, जवाफदेहिता, समयपालन र परिणाममुखी कार्यसंस्कृति स्थापित गर्दै प्रत्येक निर्णयलाई विद्यार्थीको हित, शैक्षिक गुणस्तर र संस्थाको दीर्घकालीन विकाससँग जोड्नुपर्ने उनको भनाइ थियो।

उनले राजर्षि जनक विश्वविद्यालयलाई केवल प्रमाणपत्र प्रदान गर्ने संस्थाका रूपमा नभई ज्ञान उत्पादन गर्ने, अनुसन्धान गर्ने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र समाजको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउने उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास गर्नु साझा लक्ष्य रहेको उल्लेख गरे।

नवौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै विज्ञान, प्रविधि तथा इन्जिनियरिङ संकायका डिन प्रा.डा. विद्यासागर वर्मा र विश्वविद्यालय क्याम्पसका प्रमुख डा. सन्तोष कर्णले पनि विश्वविद्यालयको विकास र शैक्षिक गुणस्तर अभिवृद्धिका विषयमा धारणा राखेका थिए।

कार्यक्रमको व्यवस्थापन व्यवस्थापन संकायका सहायक प्राध्यापक शम्भु पोखरेलले गरेका थिए। समारोहमा व्यवस्थापन संकायका डिन, परीक्षा नियन्त्रक, निर्देशक, क्याम्पस प्रमुख, प्राध्यापक तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थापनाको नवौँ वर्ष पूरा गर्दै दशौँ वर्षमा प्रवेश गरेको राजर्षि जनक विश्वविद्यालयका लागि सार्वजनिक गरिएका यी योजना कागजमा मात्र सीमित नभई प्रभावकारी रूपमा कार्यान्वयन हुन सके मधेश प्रदेशको उच्च शिक्षा, अनुसन्धान र शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। अब विश्वविद्यालयको वास्तविक उपलब्धि सार्वजनिक प्रतिबद्धताभन्दा पनि ती योजनाको कार्यान्वयन र त्यसबाट विद्यार्थीले प्राप्त गर्ने प्रत्यक्ष लाभले निर्धारण गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?