जनकपुरधाम,११ पुष । जनकपुर बोल्ट्स टिमले एनपिएल २०८१ मा ऐतिहासिक जित हासिल गरेपछि, टिमले आफ्नो प्रशंसकहरूसँग विजयी उत्सव मनाउन विशेष कार्यक्रमहरूको आयोजना गरेको छ। यस अवसरमा, टिमका खेलाडीहरू आज साँझ जनकपुरधाम आइपुग्ने तयारीमा छन्।
जनकपुर बोल्ट्सको फ्रेन्चाइजले फेसबुकमार्फत जानकारी गराउँदै शुक्रबार (दिउँसो १२ बजे) जनकपुरधाममा भव्य नगर परिक्रमा आयोजना गर्ने घोषणा गरेको छ। परिक्रमा जनकपुरधामको पवित्र जानकी मन्दिरबाट सुरु हुनेछ र रामानन्द चौक, पिराडी चौक, भानु चौक, जिरोमाइल हुँदै रजौलस्थित रामजानकी अन्तर्राष्ट्रिय रंगशालामा पुग्नेछ ।
यस विजयी यात्रासँगै, जनकपुर बोल्ट्सले मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा आफ्ना समर्थकहरूसँग भेटघाट गर्ने योजना बनाएको छ। शनिबार महोत्तरी, सर्लाही र रौतहट, आइतबार बारा र पर्सा तथा अन्तिम दिन सिरहा र सप्तरी जिल्लाहरूमा पुग्ने तयारी छ।
भेटघाटका क्रममा मधेसमा क्रिकेटको वर्तमान अवस्था, यसको भविष्य, र टिमको आगामी योजनाबारे छलफल गरिनेछ। यस अभियानले क्षेत्रीय क्रिकेटप्रति जनचासो बढाउँदै स्थानीय प्रतिभाहरूलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ।
जनकपुर बोल्ट्सको यो ऐतिहासिक जितले मधेस प्रदेशका खेलप्रेमीहरूमा उत्साह थपेको छ भने यो विजयी यात्रा उत्सवका रूपमा मधेसका विभिन्न स्थानमा मनाइनेछ।






