जनकपुरधाम। छठ पर्वको अवसरमा श्रद्धालु भक्तजनको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै जनकपुरधामस्थित गंगासागरमा सशस्त्र प्रहरीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषा र सशस्त्र प्रहरी बल फिल्ड अस्पताल बर्दिबासको संयुक्त आयोजनामा सञ्चालित शिविरबाट १०४ जना श्रद्धालु तथा सर्वसाधारणले स्वास्थ्य सेवा लिएका छन्।
इन्स्पेक्टर डा. नवनीत कुमार ठाकुरको नेतृत्वमा सञ्चालन गरिएको शिविरमा ८१ जना पुरुष र २३ जना महिलाले स्वास्थ्य सेवा प्राप्त गरेका हुन्।
शिविरमा सहभागी सर्वसाधारणको रक्तचाप (ब्लड प्रेसर) परीक्षण, स्वास्थ्य जाँच, आवश्यक औषधि वितरण तथा स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गरिएको थियो।
छठ पर्वका अवसरमा गंगासागरलगायत विभिन्न पोखरी तथा जलाशयमा ठूलो संख्यामा श्रद्धालु भक्तजनको भीड लाग्ने भएकाले सम्भावित स्वास्थ्य समस्यालाई ध्यानमा राखेर शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ।
लामो समयसम्म घाटमा बस्नुपर्ने, भीडभाडमा सहभागी हुनुपर्ने तथा व्रत र उपवासका कारण हुन सक्ने स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै श्रद्धालुलाई पर्वकै समयमा सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो पहल गरिएको हो।
धार्मिक तथा सांस्कृतिक पर्वका अवसरमा सुरक्षा व्यवस्थासँगै नागरिकको स्वास्थ्य सुरक्षालाई समेत प्राथमिकता दिँदै सशस्त्र प्रहरीले सञ्चालन गरेको शिविरले श्रद्धालु भक्तजनलाई प्रत्यक्ष लाभ पुर्याएको छ।
सुरक्षा जिम्मेवारीसँगै स्वास्थ्य सेवा, विपद् व्यवस्थापन तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको सशस्त्र प्रहरीको यस कार्यलाई स्थानीयस्तरमा सकारात्मक पहलका रूपमा लिइएको छ।
छठ पर्वलाई सुरक्षित, व्यवस्थित र स्वास्थ्यकर बनाउन गरिएको यस मानवीय पहलले सुरक्षाकर्मी नागरिकको सेवामा पनि उत्तिकै जिम्मेवार रहेको सन्देश दिएको छ।







