रौतहट,०२ माघ । गुजारा नगरपालिका, कनकपुर (वार्ड नं. ४) का स्थायी बासिन्दा अब्दुल सलाम अहिले समाजसेवी र अधिकारकर्मीको रुपमा चिनिन्छन् । सामान्य परिवारमा जन्मेका अब्दुलले बाल अधिकारका क्षेत्रमा नेतृत्वदायी भूमिका निभाउँदै आएका छन्। उनी सामाजिक अभियानमा सक्रिय भएसँगै कतिपयले उनलाई नेता भनेर पनि बोलाउन थालेका छन्।
अब्दुलले बाल विवाह र बाल श्रमजस्ता सामाजिक समस्याहरूका विरुद्ध निरन्तर आवाज उठाउँदै आएका छन्। बाल क्लबका अन्य सदस्यहरूसँग मिलेर उनले गाउँमा जनचेतना फैलाउने र सामाजिक सुधारका अभियानहरू सञ्चालन गरिरहेका छन्। केही दिन अघि, उनले बाल विवाहविरुद्धको प्रतिवद्धता सभामा सहभागिता जनाए, जहाँ उनले पालिकाको नीतिगत र व्यवहारिक पक्ष सुधार्न आवश्यक रहेको धारणा राखे।
“सामाजिक चुनौतीका विषयमा कुरा गर्दा पालिकाका जिम्मेवार निकायलाई पनि दायित्व वहन गर्नुपर्छ। मैले यो विषय बारम्बार उठाउँदै आएको छु। समस्या समाधानका लागि टोलस्तरबाट जनचेतना फैलाउनु र जिम्मेवार निकायलाई जिम्मेवार बनाउनु नै सबैभन्दा महत्वपूर्ण हो,” उनले सभामा भनेका थिए।
अब्दुलले आफ्नो प्रारम्भिक शिक्षा मदरशामा पाए। उनका बुबाले उनलाई उच्च स्तरको धार्मिक शिक्षा दिन चाहन्थे, ताकि उनी मौलाना बन्न सकून्। तर, अब्दुललाई सानैदेखि सामाजिक सेवामा रुचि थियो। उनले धार्मिक शिक्षा सँगसँगै विद्यालयको पढाइ पनि गरे र विभिन्न सामाजिक संस्थाहरूमा सक्रिय भए।
नगरस्तरीय बाल क्लबका अध्यक्ष भएपछि उनको जिम्मेवारी झनै बढ्यो। “मैले सँधै बाल अधिकार र कल्याणका मुद्दाहरूमा आवाज उठाउने गरेको छु। विद्यालय बाहिर रहेका बालबालिकालाई पुनः विद्यालयमा फर्काउन पनि लागिपरेको छु,” उनले भने।
उनका अनुसार गाउँमा जनचेतना बढिरहेको छ, जसले गर्दा बाल विवाहका घटनाहरू केही हदसम्म घटेका छन्। तर, बाल श्रमको समस्या अझै पनि कायम छ। “बाल श्रम र छुवाछुतजस्ता समस्याहरू हटाउनका लागि धेरै मेहनत गर्नुपर्छ। यसका लागि शिक्षा नै मुख्य उपाय हो,” अब्दुल भन्छन्।
अहिले अब्दुल बालिका शिक्षाको प्रवर्द्धनमा पनि सक्रिय छन्। उनले सामाजिक जागरुकता बढाउन र बाल अधिकारका लागि गरिरहेको प्रयासले समाजमा सकारात्मक परिवर्तन ल्याएको संकेत दिएको छ।
अब्दुल सलाम सामाजिक अभियानको एक उदाहरण बनेका छन्। उनी जहाँ पनि बाल अधिकारको मुद्दा अगाडि ल्याउन कत्तिपनि हिचकिचाउँदैनन्। बाल अधिकार, शिक्षा, र सामाजिक समानताका लागि उनको योगदानले समाजलाई नयाँ दिशा दिएको छ। गुजारा नगरपालिकाका बालबालिका र युवाहरूले उनलाई प्रेरणा मानेका छन्।
अब्दुलको संघर्ष र अरूप्रति समर्पणले समाजमा परिवर्तन ल्याउन सकिन्छ भन्ने प्रमाणित गरेको छ। बाल अधिकारको लागि उनको नेतृत्वले समाजमा नयाँ जोश भरेको छ।






