जनकपुरधाम,२५ माघ । प्रख्यात संगीतकार गुरुदेव कामतको परिवारलाई ‘अमित झा स्मृति साहित्य-संगीत पुरस्कार’ प्रदान गरिएको छ। जनकपुरधाम साहित्य महोत्सवको छैटौँ संस्करणको उद्घाटन समारोहमा मुख्यमन्त्री सतिश कुमार सिंह र स्व. अमित झाका पिता रामनारायण झाले संगीतकार कामतकी पत्नी सगुनवती देवी कामतलाई एक लाख पाँच हजार राशीसहित पुरस्कार हस्तान्तरण गरे।
भारतबाट संगीतमा स्नातक गरेका गुरुदेव कामतले आफ्नो जीवन संगीत साधनामा समर्पित गरे। विभिन्न सम्मान प्राप्त गरे पनि राज्यबाट विशेष सहयोग नपाएको उल्लेख गर्दै उनको परिवारलाई यो सम्मान प्रदान गरिएको हो। गत साउनमा दिवंगत भएका कामत ‘प्रबल जनसेवा श्री’ जस्ता प्रतिष्ठित सम्मानबाट पनि विभूषित थिए।
त्यस्तै, संगीत क्षेत्रमा महत्वपूर्ण योगदान दिएका अर्का संगीतकार अशोक दत्तलाई समेत ५१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ। क्यान्सर रोगसँग संघर्षरत दत्तको उपचारका लागि उक्त सहयोग प्रदान गरिएको आयोजकले जनाएको छ।
नव मिथिला फाउण्डेशनको आयोजनामा तीनदिने जनकपुरधाम साहित्य महोत्सव बिहीबारदेखि सुरु भएको छ। महोत्सवले साहित्य, संगीत र संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ।






