३० कार्तिक । नेपाल र युएईविरुद्धको तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा युएईले नेपाल सामू जितको लागि १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ । काठमाडौँको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३ ओभर २ बलमा अलआउट हुँदै १९१ रन बनाएको थियो ।
युएईका लागि मुहम्मद वासिमले ५० रनको अर्धशतकीय परी खेले अलिशन शराफुले ३५ रन बनाए । त्यस्तै भ्रित्य अरबिन्दले २५ रन बनाई आउट भए भने बसिल हामिदले २४ रन जोड्दा कप्तान सीपी रिजवानले २२ रन बनाए । नेपालका लागि सोमपाल कामी र ललित राजवंशीले समान ३-३ विकेट लिए भने करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलको भागमा समान १-१ विकेट रह्यो ।
नेपाल आज युएईविरुद्धको जित निकाल्दै सिरिज बराबरी गर्ने योजनामा रहेको छ । युएई भने नेपाललाई पराजित गर्दै एक खेल अगाबै सिरिज आफ्नो बनाउने पक्षमा रहेको छ । सोमबार भएको पहिलो खेलमा नेपाल युएईसँग ८४ रनले पराजित भएको थियो ।
त्यसैले नेपाललाई सिरिज जोगाउन आज युएईविरुद्ध जित्नै पर्ने दबाब रहेको छ । तीन खेलको सिरिजमा युएई १-० ले अघि रहेको छ । युएई र नेपालबीचको तेस्रो तथा अन्तिम खेल भने आगामी शुक्रबार हुनेछ । हेड टु हेडमा अहिसेसम्म यी दुई टिमबिच कुल ७ खेल हुँदा युएईले ५ खेलमा जित निकाल्दा नेपालले २ खेलमा जित हासिल गरेको छ ।






