जुम्ला,०२ फागुन । जुम्लाका आठ स्थानीय तहमध्ये तातोपानी गाउँपालिका उत्कृष्ट भएको छ। संस्थागत क्षमता स्वमूल्यांकन लिजा प्रणालीअनुसार पहिलो स्थान हासिल गरेको हो । कार्यसम्पादन, पारदर्शिता, वित्तीय व्यवस्थापन र योजनाको सफल कार्यान्वयनका आधारमा उत्कृष्ट भएको हो । तातोपानी गाउँपालिकाले समग्र मूल्यांकनमा ९८.८१ प्रतिशत अंक प्राप्त गरेको छ ।
यहाँका आठ स्थानीय तहमध्ये अग्रस्थानमा पुर्याउन सफल भएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए । उनले भने, ‘यो पालिकाको प्रमुख उपलब्धि हो । त्यस्तै, ९२ प्रतिशत अंकसहित कनकासुन्दरी गाउँपालिका दोस्रो रहेको छ । हिमा गाउँपालिकाले ६९.५ प्रतिशत अंक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ । गाउँपालिकाको योजनाबद्ध ढंगले गरेको कार्यशैली, पारदर्शिता र दिगो विकासको सोच भएको प्रमुख प्रशासकीय अधिकृत तीर्थ कठायतले बताए ।
उनका अनुसार तातोपानीले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा ७१.७४ प्रतिशत, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा ७१.१३ प्रतिशत, लेखा प्रणाली तथा वित्तीय व्यवस्थापनमा ७२.२६ प्रतिशत, अनुगमन, मूल्यांकन तथा लेखापरीक्षणमा ५२.७५ प्रतिशत, र राजस्व व्यवस्थापनमा ६०.३५ प्रतिशत अंक प्राप्त गर्दै गाउँपालिकाले समग्रमा ९० प्रतिशत मूल्यांकन सुरक्षित गरेको छ ।
तातोपानी गाउँपालिका स्थानीय आर्थिक विकास मूल्यांकनमा समेत ९२ प्रतिशत अंक प्राप्त गरेको छ ।






