विराटनगर । विराटनगरमा शोरुमबाटै गाडी चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
शुक्रबार बिहान करिब सवाँ २ बजे विराटनगरको कञ्चनबारी ३ स्थित पूजा इन्टरनेशनल नेपाल प्रालीको शोरुमबाट बा. ०१३० च ८५८१ नम्बरको टाइगुन गाडी चोरेको आरोपमा मोरङ प्रहरीले विराटनगर- ४ इक्राहीका मन्तोष विनलाई पक्राउ गरेको हो।
गाडीसहित विनलाई सुनसरीको इनरुवाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। गाडी लिएर जाने क्रममा पेट्रोल सकिएपछि प्रहरी टोलीले गाडीसहित विनलाई पक्राउ गरेको हो।
उनले शोरुमको अगाडीपट्टीको शिशा फुटाएर पेट्रोल इन्जिन भएको नयाँ गाडी चोरी गरेका थिए। शो रुममा सधै गाडीसँगै चाबी राखिएको हुँदा चोरलाई समेत सहज भएको प्रहरीले जनाएको छ।






