बिदेह नगरपालिकाका प्रशासकीय अधिकृतमाथि मेयरका छोराद्वारा कुटपिट, मेयर स्वयंले गोली हान्ने धम्की

२०८१ फाल्गुन ४, आईतवार १८:२८

जनकपुरधाम,०४ फागुन । बिदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ई. दीपेन्द्र कुमार साहले आफू मेयर बेचन दासका छोरा राम भजन दासबाट कुटपिटको सिकार भएको र मेयर स्वयंले गोली हान्ने धम्की दिएको भन्दै न्यायका लागि अपिल गरेका छन्।

साहका अनुसार, शिक्षा सेवा आयोगबाट सिफारिस भएकी सामाजिक शिक्षिका पवन कुमारीलाई हाजिर गराएपछि मेयरका छोरा राम भजन दासले उनलाई कार्यकक्षमै आएर गालीगलौज गर्दै हातपात गरेका थिए। घटनापछि धनुषा प्रहरी प्रमुखलाई जानकारी गराई प्रहरी जवान विकास बस्नेत र विकास कुमार रायको उपस्थितिमा छलफल भइरहेकै समयमा मेयर बेचन दासले नै उनलाई गोली हान्ने धम्की दिएको आरोप छ।

साहले जिल्ला प्रशासन कार्यालय धनुषा र सम्माननीय प्रधानमन्त्रीसमक्ष सुरक्षाको माग गर्दै न्यायको अपिल गरे पनि हालसम्म कुनै सुरक्षा व्यवस्था नगरिएको गुनासो गरेका छन्। उनले आफूलाई सेवा गर्नबाट बञ्चित गरिएको र नगरपालिकाका कर्मचारीलाई गलत आरोप लगाएर आफूमाथि षड्यन्त्र गर्न खोजिएको दाबी गर्दै नगरवासीलाई आफ्नो सुरक्षाका लागि सघाउन अनुरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?