जनकपुरधाममा चौथो अन्तर स्कूल क्रिकेट प्रतियोगिता फागुन १७ देखि सुरू

२०८१ फाल्गुन १६, शुक्रबार १८:१८

जनकपुरधाम,१६ फागुन । जनकपुर स्पोर्ट्स क्लब र न्यू भिजन नेपालको संयुक्त आयोजनामा चौथो अन्तर स्कूल क्रिकेट प्रतियोगिता फागुन १७ गतेदेखि जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदान (बरहबिघा) मा आयोजना हुने भएको छ।

आज शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको ट्रफी अनावरण गर्दै सबै टिमका कप्तानहरूसँगको भेटघाट कार्यक्रम सम्पन्न भएको छ। आयोजकका अनुसार प्रतियोगितामा कुल १६ विद्यालयका टिमहरुको सहभागिता रहनेछ। पहिलो र दोस्रो राउन्ड नकआउट प्रणालीमा खेलाइनेछ भने अन्तिम राउन्ड लिग प्रणालीमा हुनेछ।

प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान, बलर, विकेटकिपर, फिल्डर तथा म्यान अफ द म्याच लगायत विभिन्न विधाका खेलाडीहरूलाई पुरस्कृत गरिनेछ। आयोजक समितिका सदस्य प्रशान्त अरविन्दले यस प्रतियोगिताले विद्यार्थी क्रिकेट खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने उत्कृष्ट अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे।

विजेता टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। न्यू भिजन नेपालका अध्यक्ष तथा प्रतियोगिता व्यवस्थापक अम्बु प्रसाद साहले जनकपुरधामलाई नेपालमा क्रिकेटको जन्मस्थलको रूपमा चिनिए पनि एनपीएलमा जनकपुरका खेलाडीहरूको प्रतिनिधित्व नहुँदा दुःख लागेको बताए। उहाँले स्कुलस्तरबाटै खेलाडी उत्पादन गरी भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा खेल्ने अवसर प्रदान गर्नु प्रतियोगिताको प्रमुख उद्देश्य रहेको उल्लेख गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?